काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिई आज स्वदेश फर्किएका छन्।
विगतमा विदेश भ्रमणबाट फर्केपछि ओली आफैँ पत्रकार सम्मेलनमा सहभागी हुने गरेका भएपनि यसपालि उनी पत्रकार सम्मेलनमा देखिएनन्।
परराष्ट्र सचिव अमृतबहादुर राईले ओलीको भ्रमणका विषयमा भएका गतिविधिबारे पत्रकारहरूलाई जानकारी गराएका थिए।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीलाई नदेखेपछि पत्रकारहरूले यसको कारणबारे राईसँग जिज्ञासा राखेका थिए।
जवाफमा राईले विगतका भ्रमणमा पनि ओलीले आफू नै पत्रकार सम्मेलनमा उपस्थित हुने नगरेको जिकिर गरेका थिए।
यसका साथै उनले अन्तर्राष्ट्रिय अभ्यासका कारण पनि ओली पत्रकार सम्मेलनमा उपस्थित नभएको दाबी गरे।
पत्रकारहरूले भने राईको उत्तरमा चित्त बुझाएनन्। तर राईले गोलमोटल जवाफ दिन थालेपछि पत्रकारहरूले पनि धरै जिज्ञासा राखेनन्। भ्रमणका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन केही क्षणमा नै सकियो।
ओलीलाई प्रश्न सोध्न पत्रकार सम्मेलनमा पुगेका पत्रकारहरू ओलीलाई नदेखी फर्किए।
ओली विमानबाट उत्रिएर पत्रकारहरूसँग भेट नगरी बाहिरिएका थिए।
यसअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरेका थिए।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो। प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थमा उच्चपदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए।
‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उहाँ यही असोज १४ गते त्यसतर्फ गएका थिए।
स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरे। त्यसक्रममा प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलन क्रममा प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राखेको थियो। सम्मेलन दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा केन्द्रित थियो।
प्रधानमन्त्री ओलकासाथ उहाँकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठलगायतको नेपाली प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किएका छन्।


