काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौँ टावरको नक्सा प्रकरणमा दोषी देखिए कारवाही भोग्न तयार रहेको प्रष्टीकरण दिएका छन्। पछिल्लो समय आफूमाथि विभिन्न आरोप र टीकाटिप्पणी गरिएकाले यसबारे बोल्न बाध्य भएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन्।
काठमाडौँ टावरको नक्सापासका विषयमा आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको र चरित्रहत्या गर्ने प्रयास मात्र गरिएको उनको भनाइ छ।
‘मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो। मैले नक्सा स्वीकृत गर्ने बेलामा पनि प्रस्टसँग त्यही उल्लेख गरेको छु,’ गुरागाईंले भने, ‘म फेरि पनि भन्छु– मैले पहिलाका निर्णयलाई निरन्तरता मात्रै दिएको हो। त्यसमा मेरो दोष छैन,सम्बन्धित निकायले मेरो कमजोरी देखायो, नियम, कानुन र प्रक्रियामा दोषी प्रमाणित गर्यो भने म कारबाही भोग्न तयार छु। तर, अहिले जुन ढंगबाट लाञ्छना लगाउने काम भएको छ, त्यो गलत छ।’
उनले आफू महानगरको बजेट आउनुपर्छ भन्नेमा रहेको समेत बताएका छन्। ‘म काठमाडौँ महानगरको बजेट आउनुपर्छ भन्नेमा छु। मेयर साब तथा उपमेयरज्यू र जनप्रतिनिधिका निर्णयहरूमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु,’ उनले भने।
तर अहिले जुन ढंगले बजेटसँग टावरको विषयलाई जोडिएको छ, त्यो जोड्नुपर्ने कारण नै होइन भन्ने उनको भनाइ छ। कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्नेबितिक्कै ऊ भ्रष्टाचारी हुँदैन,’ उनले भने।
उनले आफू नरहेका बेला पनि लामो समयदेखि महानगरको बैठक नबसेको समेत बताएका छन्। ‘व्यक्ति तोकेर तँ भ्रष्टाचारी हो भनेर त्यसरी तोक्न मिल्ला? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि,यसरी व्यक्तिको चरित्रहत्या गर्ने कुरा गलत छ। यदि तपाईंलाई कसैले बिनाप्रमाण चरित्रहत्या गर्छ भने त्यसलाई ठिक भन्न सक्नुहुन्छ?’ उनले भने।
आफूले मेयर साहकोबारेमा केहि नबोलेको बताउँदै गुरागाईंले भने ‘मैले अहिलेसम्म मेयर साबका बारेमा केही पनि भनेको छैन अनि, मेयरको सचिवालयको हवला दिँदै मलाई आरोप लगाउने कुरा कसरी ठिक हुन्छ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि? आधिकारिक निकाय हुन्छ होला। उसले मेरो बारेमा छानबिन गरिरहेको होला नि, होइन?’
त्यसो त उनले पटक–पटक आफूमाथि प्रहार गरिएको भन्दै उनले असन्तुष्टि समेत जनाएका छन्।


