काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले समयमा नै पार्टीको महाधिवेशन सम्पन्न गर्न क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने सदस्यहरुले समयसीमाभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने र त्यसका लागि क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका हुन्।
असार १६ गते सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न भातृसंगठन, महाधिवेशन लगाएत समसामयिक बिषयमा छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले जानकारी दिइन्।
‘वडा तहदेखि केन्द्रसम्मका अधिवेशनलाई समयमा नै सम्पन्न गर्न क्यालेन्डर बनाउनुपर्ने सुझाव आएको छ,’ प्रसाईंले भनिन्।
बैठकमा संवैधानिक नियुक्तीका बिषयमा सर्वोच्चको फैसला, पूर्वराष्ट्रपति राजनीतिमा फर्कने विषयलगायतका विषयमा समेत छलफल भएको उल्लेख गरिन्।
त्यस्तै सदस्यहरुले पार्टी नेतृत्वलाई जनमत जोगाउन, संरचना सुधार गर्न, संगठनात्मक एकता कायम गर्न र जनताको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशनकाे मिति नजिक आइसकेकाे भन्दै महाधिवेशनका लागि तयारीमा जुट्न पर्ने बेला आएको बताएका थिए।
केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रममा जारी रहेकाले बैठक सोमबार पनि बस्ने नेताहरुले जनाएका छन्। ९ महिनापछि कांग्रेस बैठक सुरु भएको हो।


