काबुल- इरानले आवाश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म देश छोड्न आदेश दिएपछि ठूलो संख्खाका अफगानीहरू स्वदेश फर्किएका छन्।
जुन महिनाको सुरुदेखि करिब चार लाख ५० हजार अफगानीहरू इरानबाट फर्केको संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सी (आइओएम)ले सोमबार बताएको छ।
गत मे महिनाको अन्त्यमा, इरानले जुलाई ६ सम्ममा कागजातविहीन अफगानहरूले देश छोड्नुपर्ने बताएको थियो।
जुनको मध्यदेखि सीमा पार गर्ने मानिसहरूको सङ्ख्या बढेको र केही दिनहरूमा पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमाबाट करिब ४० हजार मानिसहरू स्वदेश भित्रिएको संयुक्त राष्ट्रसङ्घीय निकायले बताएका छन्।
जुन १ देखि जुलाई ५ सम्म चार लाख ४९ हजार २१८ अफगानहरू इरानबाट फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्ठनका प्रवक्तालाई लक्षित गर्दै एएफपीले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी समूह र तालिबान अधिकारीहरूले फर्कनेहरूलाई सहयोग गर्न थप कोषको आह्वान गर्दै विदेशी सहायता कटौतीले सङ्कट व्यवस्थापनमा असर पारेको जनाएका छन्।
संयुक्त राष्ट्रसङ्घले यो आगमनले गरिबी, बेरोजगारी र जलवायु परिवर्तनसँग सम्बन्धित समस्यासँग जुझिरहेको देशलाई अस्थिर बनाउन सक्ने चेतावनी दिँदै सम्बन्धित राष्ट्रहरूलाई अफगानहरूलाई जबरजस्ती फिर्ता नगर्न आग्रह गरेको छ।
अफगानहरूलाई फिर्ता गर्न बाध्य पार्नु वा दबाब दिनुले यस क्षेत्रमा थप अस्थिरता ल्याउनुका साथै युरोपतर्फ अघि बढ्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी युएनएचसीआरले विज्ञप्तिमार्फत जनाएको छ।


