काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेपछि ओलीले चौधरीलाई भेटका लागि बोलाएका हुन्।
ओलीसँग भेटका लागि चौधरी सोमबार दिउँसो बालुवाटार पुगेका थिए। चौधरीले सुदूरपश्चिममा आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई विनाकारण बर्खास्त गरेपछि आफूहरूले सबै ठाउँका सरकारहरूबाट फिर्ता हुने र प्रतिपक्षी बेन्चमा बस्ने निर्णय लिएको बताएका थिए। चौधरीको उक्त निर्णयमा अध्यक्ष रञ्जिता श्रेष्ठको पनि समर्थन छ।
रेशम बालुवाटार पुग्नुअघि नाउपाले सरकारबाट फिर्ता हुनका लागि मन्त्रीहरूलाई तयार रहन निर्देशन दिएको थियो। तर रेशम बालुवाटार पुगेपछि उक्त पार्टीका मन्त्रीहरू अन्यौलमा परेका छन्।
उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो। प्रधानमन्त्री ओलीले चौधरीलाई समर्थन फिर्ता लिने निर्णयबाट पछि हट्न आग्रह गर्दै संवादबाट समाधान निकाल्न सकिने बताएका थिए।
उनले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेर सहमतिको वातावरण बनाउनुपर्ने बताएका थिए। सुदूरपश्चिममा कांग्रेसका कमल शाह मुख्यमन्त्री छन्। बिहीवार उनले नाउपाबाट वनमन्त्री बनेका रामेश्वरलाई बर्खास्त गरेका थिए।
संघ सरकारमा पर्यटन राज्यमन्त्री अरुण चौधरी छन्। उनी राजीनामा तयार भइसकेको र पार्टी नेतृत्वको निर्देशन आउनबित्तिकै प्रधानमन्त्रीलाई बुझाउने तयारीमा थिए। उनले अहिलेसम्म राजीनामा भने बुझाइसकेका छैनन्।
संरक्षक चौधरीले प्रधानमन्त्रीलाई भेटेपछि नाउपाले निर्णय परिवर्तन गर्न सक्ने कतिपयको अनुमान छ।


