धादिङ– धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ। त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो।
शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए। शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन्। घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाई छ।
रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन्। यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति भएको छ। यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको छ।
बाढीले भन्सार परिसरमा राखिएका केही गाडीहरू बगाएको छ। बाढीले रसुवागढी हाड्रोपावरमा क्षति पुर्याएको छ।
गोसाइकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडकखण्ड स्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण चर्किई अवरोध भएको रसुवा प्रहरीले जानकारी दिएको छ।
नेपाली काँग्रेसले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ। नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपिल गरेको छ।


