काठमाडौँ – मधेश प्रदेशको मन्त्रीपरिषद बैठकले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। विहीबार साँझ बसेको मधेश मन्त्रिपरिषद बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो।
मनसुनका बेलामा पनि वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेकापछि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए।
बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह समेत गरेको छ।
यसैगरी मन्त्रिपरिषदको बैठकले पर्साको वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि ट्यांकरसहितका माध्यम परिचालन गर्ने निर्णय समेत गरेको छ।
मधेश सरकारले खानेपानी संकट समाधानमा संघीय खानेपानी मन्त्रालयसँग सहयोग पनि मागेको छ।
यस्तै कृषि क्षेत्रमा त्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न मधेश प्रदेश सरकारले आह्वान गरेको छ।


