काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध सुमधुर रहेको बताएका छन्। प्रधानसेनापति सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध अतुलनीय रहेको पनि बताएका हुन्।
चिनियाँ जनमुक्ति सेनाको ९८औँ वार्षिकोत्सवमा शुक्रबार राजधानीमा चिनियाँ दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति सिग्देलले कोरोना र महाभूकम्पमा चिनियाँ सेनाले गरेको सहयोगको प्रशंसा गरेका थिए।
चीनको दूतावासका सैनिक सहचारी ल्यु चङजङ पनि कार्यक्रममा उपस्थित थिए। नेपाली सेनाले आपसी सैनिक तथा कूटनीतिक सम्बन्ध सबल बनाउन भारत, चीन, बेलायत र अमेरिकामा सैनिक सहचारी पठाउने गरेको छ।
नेपाली र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ।


