काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)लाई उपनिषद्सँग जोड्ने प्रयास गरेकी छन्। मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल विमोचन तथा विमर्श कार्यक्रममा उनले मदन भण्डारीले प्रतिपादन गरेको मानिने जबजलाई बृहदारण्यकोपनिषद्को उक्तिसँग जोड्ने प्रयसा गरेकी हन्।
‘हामीलाई थाहा छ, हाम्रो संस्कृतिमा रहेको वैदिकमन्त्र ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया:’ले सबै मान्छे सुखी र निरोगी हुन्, सबैले शुभ देखुन् र कसैलाई दुख नहोस् भनी यथार्थ भावना प्रकट गरेको छ। जबजको मूल भावना पनि यही हो,’ पूर्वराष्ट्रपतिसमेत रहेकी एमाले नेतृ भण्डारीको भनाइ छ। विद्या मदन भण्डारीकी पत्नी हुन्।
पूर्वराष्ट्रपतिबाट एमालेको सक्रिय राजनीतिमा छिरेकी भण्डारीले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्ने गरी काम गरिरहेको बताइन्। ‘जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन। यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो,’ भण्डारीको भनाइ थियो।
उनले वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता गर्नु आजको आवश्यकता रहेको बताइन्। ‘जबजले हाम्रो राष्ट्रलाई समृद्ध र नागरिकलाई सुखी बनाउने महान लक्ष्यलाई अघि बढाएको छ,’ भण्डारीले भनिन्, ‘नेकपा एमालेले पनि समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा पूरा गर्न यो सिद्धान्त अनुसार अविचलित रूपमा लागिपरेको छ।’


