काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग दुई घण्टा कुराकानी गरेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भोलिपल्टै राष्ट्रपतिबाट एमाले राजनीतिमा फर्किएकी विद्या भण्डारीसँग कुराकानी गर्न उनकै निवास भंगाल पुगे। भण्डारीसँग एक घण्टा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताएका छन्।
नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरु भएकै दिन साउन १ गते कांग्रेस नेता कोइराला माओवादीका अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए। गठन भएको हनिमुन पिरियड नसकिँदै ओली सरकार ढल्नै लागेको भनेर भाषण दिन थालेका प्रचण्डसँग भेट्नका लागि शेखरले भने ओली सरकारको एक वर्षे कार्यकाल हेरिसकेपछि मात्र प्रचण्डलाई भेट्न पुगेका थिए। प्रचण्डलाई भेटेको भोलिपल्ट उनी विद्यानिवास भंगाल पुगे।
विद्या असार १४ गते घोषणा गरी एमालेको राजनीतिमा आएकी हुन्। त्यसयता विभिन्न कार्यक्रममा सहभागी भइसकेकी भण्डारीले राजनीतिक भेटवार्तालाई पनि तीव्रता दिएकी छन्। असार १९ गते विद्याले काठमाडौँका मेयर बालेन्द्र साहलाई निवासमा बोलाएर कुराकानी गरेको असार २२ गते सार्वजनिक भएको थियो।
प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा शेखरले लिएर गएका थिए कांग्रेसका पूर्वनेता अमरेशकुमार सिंह। उनी कांग्रेस नेता शेरबहादुर देउवा पक्षधरले कारवाही गरेपछि कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारका रूपमा सर्लाही-४ बाट विजयी भएर संसदमा प्रतिनिधित्व गर्छन्। वर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग सिंहको तितो सम्बन्ध छ।
सिंहले कांग्रेस-एमालेबिचको गठबन्धन ढालेर कांग्रेस नेता कोइरालालाई प्रधानमन्त्री बनाउने गरी गृहकार्य भइरहेको दाबी गरेका छन्। ‘प्रचण्ड, शेखर कोइरालासहित विद्या भण्डारी, माधव नेपाल, उपेन्द्र यादवलगायतको सहभागिता रहन्छ। त्यसको लागि सबै सकारात्मक ढङ्गले वार्ता अघि बढेको छ,’ उनले भने।
विद्या भण्डारी राजनीतिमा आएको कुरा नेपाली कांग्रेसका सभापति देउवालाई मन परेको छैन। वरिष्ठ नेता डा. शेखर कोइरालाले भने उनी राजनीतिमा आउने कुराकानी भएपछि झनै भेटघाट बढाए। यही बेला कांग्रेस अनुशासन आयोगले कोइराला पक्षका केही नेतालाई पार्टीबाट निष्काशन पनि गरेको छ।
सिंहलाई लिएर आफूलाई प्रधानमन्त्री बनाउने वातावरण बनाउने प्रयासस्वरूप ‘प्रचण्ड’सँग भेट्न कोइराला खुमलटार पुगेका हुन्।
विद्या एमालेको अध्यक्ष बन्न चाहन्छिन्। त्यसमा ओली बाधक बन्ने भएकाले उनलाई हटाउने रणनीति बुनिरहेकी छन्। प्रचण्ड ओलीलाई सत्ताच्यूत गर्न चाहन्छन्। प्रचण्ड जस्तै माधवकुमार नेपाललाई पनि ओलीलाई कमजोर पार्ने भित्री इच्छा छ। कोइरालाको ध्येय ओलीपछि देउवालाई प्रधानमन्त्री बन्न नदिने र त्यसमा आफू प्रधानमन्त्री बन्नेतर्फ छ। नेताहरूको आआफ्नो स्वार्थसिद्ध हुन सक्ने भएकाले मिलेर अघि बढ्ने वातावरण बनेको सिंह बताउँछन्।
यी रणनीतिमा तीनै नेताहरू तत्काल सफल हुन गाह्रो भएपनि ओलीलाई दबाबमा राख्न विद्याले लिएको रणनीति केही हदसम्म सफल हुने एमालेकै नेताहरू बताउँछन्। भदौमा हुने एमाले विधान महाधिवेशनमा विद्यालाई सहभागी नगराउने गरी निर्णय एमाले सचिवालयले गरिसकेकाले त्यसमा दबाब बढाएर आफू सके एमाले विधान महाधिवेशनमा सहभागी हुने नसके ओलीमाथि दबाबको वातावरण तयार गर्ने विद्याको तल्कालिक रणनीति छ।
सिंह भने अब अर्को समीकरण बनाउने निष्कर्षमा नेताहरू पुगेको बताउँछन्। उनले आफूहरूले नयाँ समीकरणको लागि आवश्यक सङ्ख्या ध्यान दिएर नै गृहकार्य अघि बढेको जिकिर गर्छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता डा. शेखर कोइरालाबीच केपी ओली नेतृत्वको विकल्प खोज्ने गरी छलफल अघि बढेको दाबी गर्छन्। ‘देशमा अहिले नयाँ ध्रुवीकरणको आवश्यकता छ। त्यो बुझेर नै नयाँ ध्रुवीकरण भइरहेको छ,’ उनले भने। यी दुई नेताबीचको भेटमा सिंह पनि सहभागी थिए।
ओली सरकार चरम भ्रष्टाचारमा डुबेको र मन्त्रीहरूको घुस लिएको अडिओ सार्वजनिक भइरहेकाले कांग्रेस-एमालेको वर्तमान गठबन्धन भ्रष्टाचारमा लिप्त रहेको कुरा अब आरोप मात्र नभएर पुष्टि भइसकेको उनको भनाइ छ। अडिओ सार्वजनिक हुँदा समेत मन्त्रीहरू सरकारमा बसिरहेकाले यो भन्दा लाजमर्दो कुरा के हुन नसक्ने भन्दै विकल्प खोज्ने ठाउँमा नेताहरू ध्रुवीकरणमा पुगेको उनको भनाइ छ।
कोइरालाका भेटघाटहरू एमाले राजनीतिमा सक्रिय हुने विद्याको घोषणापछि बढेका हुन्। आफूपक्षीय नेताहरूमाथि अनुशासनको कारबाही गरेको सन्दर्भ पनि यसैबेला परेको छ। पछिल्लो समय कोइरालाले अर्बपति विनोद चौधरीमाथि कठोर टिप्पणी गरेका थिए। त्यसको जवाफमा आफूपक्षका नेताहरूलाई निष्काशन गरिएको कोइराला पक्षधरको बुझाइ छ।
कोइरालाले पार्टीको महाधिवेशन छिटो गर्नुपर्ने मागसहित केही दस्तावेजसमेत सार्वजनिक गरिसकेका छन्। तर कोइरालाका कुरा पार्टीमा खासै सुनिँदैन। आफू र आफू पक्षधरलाई पेल्न १८ जनालाई कारवाही गरिएपछि विद्या र प्रचण्डजस्ता शक्तिकेन्द्रसँग भएका भेट सार्वजनिक गरेर कोइरालाले देउवामाथि दबाब बनाउने प्रयत्न गरेका हुन्। यो २०७९ सालमा भएका निर्वाचनमा खेलेको नकारात्मक भूमिकाका विषयसँग सम्बन्धित भएको र त्यसलाई यतिबेला कारवाही गरेर संस्थापनले शक्तिको तुजुक देखाएको कोइराला पक्षधरको बुझाइ छ।
अनुशासन समितिले लुम्बिनीका महामन्त्री, खोटाङका जिल्ला सभापति र कास्कीका निवर्तमान जिल्ला सभापतिसहित १८ नेतालाई १ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने गरी कारबाही गरेको छ। लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसी शेखर समूहका नेता हुन्। शेखरले अनुशासन समितिको भूमिकामाथि प्रश्न उठाएका थिए।
अनुशासन समितिले लुम्बिनीका महामन्त्री, खोटाङका जिल्ला सभापति र कास्कीका निवर्तमान जिल्ला सभापतिसहित १८ नेतालाई १ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने गरी कारबाही गरेको छ। लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसी शेखर समूहका नेता हुन्। यीबाहेक कारबाहीमा परेका अधिकांश नेताहरू शेखर समूहकै रहेको उनीहरूको दाबी छ।
हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि शेखरले अनुशासन समितिको भूमिकामाथि प्रश्न उठाएका थिए।
शेखर उनै नेता हुन्, माओवादीसँग गठबन्धन गर्ने सभापति शेरबहादुर देउवाको स्पष्ट अडान भइरहेका बेला एमालेसँग मिलेर सरकार बनाउन पर्छ भन्थे। अहिले एमालेसँग कांग्रेसले सरकार चलाइरहेका बेला यसको विकल्प खोज्नका लागि आफू प्रधानमन्त्री बन्नुपर्ने भन्दै नेताहरूसँग भेटघाट बढाएका छन्।


