काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा भेट भएको छ।
एमालेमा भण्डारीको सदस्यता नवीकरण र पार्टीको जिम्मेवारीका विषयमा छलफल गर्ने एजेन्डा छ। दुई पटक राष्ट्रपति पद सम्हालेर विद्याले आफू एमाले राजनीतिमा सक्रिय भएको घोषणा गरेकी छन् भने ओली विद्यालाई रोक्ने योजनामा छन्।
ओली अपराह्न ४ बजे च्यासल पुग्नुअघि नै विद्या पुगेकी थिइन्। एमालेले एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको घोषणा गरेलगत्तै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई वार्तामा बोलाएका हुन्।
असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमाले राजनीतिमा सक्रिय हुने उद्घोष गरेकी थिइन्। शनिबारको पोलिटब्युरो बैठकमा ओलीले विद्याको सदस्यता पेन्डिङमा रहेको बताएका थिए। भण्डारी राष्ट्रपतिमा जानुअघि एमालेमा उपाध्यक्ष थिइन्।


