काठमाडौँ- दुई कार्यकाल राष्ट्रपति बनेर एमाले राजनीतिमा फर्किएकी विद्या भण्डारीको पार्टी सदस्यता अझै अन्यौलमा परेको छ।
विद्या भण्डारीले आफ्नो सदस्यता यसअघि नै नवीकरण भइसकेको दाबी गरेपनि पार्टीको संस्थापन पक्षले भने त्यसलाई स्वीकार गरिसकेको छैन।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग झन्डै दुई घण्टा वानटुवान बसेर हसमुख चेहरामा बाहिरिँदा पनि विद्याको एमाले सदस्यताका विषयमा एमालेले आधिकारिक रूपमा कुनै पनि धारणा सार्वजनिक गर्न सकेन।
ओलीसँग वानटुवानबाट बाहिरिने क्रममा पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका केही प्रश्नको जवाफ दिएकी छन्।
उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए। जबाफमा उनले ‘सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो’ भनेकी छन्। ‘तर आज सदस्यता नवीकरणको विषयमा कुराकानी भएन,’ उनले भनिन्।
एमाले संस्थापन पक्षले भने भण्डारीको सदस्यता पेन्डिङमा रहेको दाबी गर्दै आएको छ।
भेटपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने पत्रकारहरूसँग कुराकानी गर्न अस्वीकार गरे।
एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता दुई वर्ष अगाडि नै नवीकरण भएको दाबी गरेका छन्। आइतबार च्यासलमा पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता चलिरहँदा पाण्डेले सञ्चारकर्मीसँग उक्त दाबी गरेका हुन्।
सचिवालय बैठकले नै भण्डारीको सदस्यतालाई स्वीकारेको उनको भनाइ छ। त्यसपछि अध्यक्ष ओलीले पनि सहमति जनाएको उनले जिकिर गरे।
‘दुई वर्ष अघि नै पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण गरेको छु भन्नुभएको थियो। एक वर्ष अघि नै सचिवालय बैठकमा महासचिवले पार्टी बैठकमा उहाँले नवीकरण गर्नुभएको भन्नुभएको थियो,’ पाण्डेले भने, ‘अध्यक्षले पनि त्यसमा सहमति जनाउनुभएको थियो। नवीकरण विषयमा पहिले नै प्रश्न उठेन त्यसैले अहिले बाहिर विवाद गर्नुभन्दा भित्रै बसेर सहमति गर्नुपर्छ।’
भण्डारीको सदस्यता भन्दा पनि पार्टीमा सक्रिय हुने र पाउने जिम्मेवारीका विषयमा कुराकानी गर्न विद्या आज च्यासल आएको उनको भनाइ छ।
शनिबार पोलिटब्युरो कमिटीको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता होल्ड भएको बताएका थिए। तर पाण्डेले आधिकारिक रूपमा पार्टीले होल्ड नभनेको जिकिर गरे।
त्यसैगरी,नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन्। त्यस्तै, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताएका छन्।
त्यसैगरी,नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय प्राविधिक रहेको जिकिर गरेका छन्।
‘सदस्यताको विषय प्राविधिक कुरा हो। प्राविधिक कुरा टुंगिनु अघि राजनीतिक कुरा त्यसअघि टुंग्याउनुपछ। प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक छैन। मुख्य कुरा भनेको राजनीतिक कुरा हो। त्यो टुंगिएपछि यो त भइहाल्छ,’ उनले भने।
हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा भण्डारीको सदस्य नवीकरणको विषयले बहस निम्त्याएको थियो। अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए। राष्ट्रपति भइसकेको व्यक्तिको सदस्यता नवीकरण विषय केन्द्रीय कमिटीबाट टुंग्याइने भन्दै एमालेले हाल भण्डारीको सदस्यता ‘पेन्डिङ’ अवस्थामा राखेको छ।
आफूसँग कुनै परामर्श नै नगरी विद्याले एमाले राजनीतिमा सक्रिय बन्ने भनी घोषणा गरेको भन्दै ओलीले सार्वजनिक रूपमा नै आपत्ति जनाइसकेका छन्।
विधान अधिवेशनको तयारीमा रहेको एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि सुरु हुदैछ।
केन्द्रीय कमिटीको बैठकमा समेत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका बिषयमा छलफल हुने नेताहरुले जनाएका छन् ।


