काठमाडौँ- अर्थ मन्त्रालयले शोभाकान्त पौडेललाई भन्सार विभागको महानिर्देशक बनाउने निर्णय गरेको छ। यसअघि खानेपानी मन्त्रालयमा रहेका सहसचिव शोभाकान्त पौडेललाई भन्सार विभागको महानिर्देशक बनाउने निर्णय गरिएको हो।
पौडेल राजस्व समूहका क्याडर हुन्। जनार्दन शर्मा अर्थमन्त्री भएको बेला उनी आन्तरिक राजस्व विभागका महानिर्देशक भइसकेका थिए।
राजस्व प्रशासनभित्र शर्माले मनोमौजी गर्न थालेपछि पौडेलले असन्तुष्टि व्यक्त गर्दै आफ्नो सरुवा माग गरेका थिए। पौडेलले खानेपानी मन्त्रालयबाट हिजो नै रमाना लिएर अर्थमन्त्रालयमा हाजिर भएका थिए।
अर्थ मन्त्रालय स्रोतका अनुसार पौडेलले आज नै भन्सार विभागको महानिर्देशक पत्र बुझेका छन्। बजेटअघि अर्थमन्त्री डा महतले भन्सार विभागमा महानिर्देशक रहेका चक्रबहादुर बुढाको सरुवा गराएका थिए।
बजेट अगाडि भन्सार विभागमा नयाँ महानिर्देशक ल्याउँदा विवाद आउन सक्ने भन्दै अर्थमन्त्री डा.महतले बजेट लगतै पौडेललाई महानिर्देशक बनाएका हुन्।
भन्सार राजस्व बढाउने, भन्सारमा हुने राजस्व चुहावट तथा न्युन विजकीकरण नियन्त्रण, भन्सार प्रशासनलाई चुस्तदुरुस्त बनाउने चुनौती नयाँ महानिर्देशक पौडेलसामु छ।
विभागका महानिर्देशकसँगै अर्थ मन्त्रालयका नीति विश्लेषण महाशाखा प्रमुख सुमन दाहालले पनि आफ्नो सरुवाको पत्र बुझेका छन्। बजेट अगाडि नै उनको सरुवा भएको भएपनि बजेटसम्म काम गर्न अर्थमन्त्रीले निर्देशन दिएका थिए। उनको सरुवा राष्ट्रिय योजना आयोगमा भएको छ।
नीति विश्लेषणको जिम्मेवारी बजेटअघि अर्थ तानिएका बाबुराम सुवेदीले पाएका छन्।


