काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मध्यरातमा सकिएको एमाले बैठकले आफूलाई एमालेको राजनीतिमा आउन रोक्ने निर्णयबारे प्रतिक्रिया दिएकी छन्।
बुधबार निकटस्थ नेतासँग परामर्श गरेकी भण्डारीले आफूसँग केही सोचाइहरू रहेको भन्दै त्यसलाई केही दिनभित्र सार्वजनिक गर्ने बताएकी हुन्।
‘हामी लागेर बनाएको पार्टी हो, तर अध्यक्षले जुन शैली देखाउनुभयो। त्यसले पार्टीलाई निराश बनाउने बाहेक केही गर्दैन। यो पार्टीमा कोही एउटा मात्र नेता छैन, जनताको बहुदलीय जनवादको स्पिरिट कुनै व्यक्तिविशेषलाई मात्रै मान्ने भन्ने हुँदै होइन,’ भण्डारीले आफूहरुसँग भनेको उद्धृत गर्दै एक निकट नेताले भने, ‘मसँग ब्याक अप नै छैन भन्ने होइन। म ब्याक अपविना बसेकी छैन। मलाई एक–दुईवटा जरुरी भ्याउनैपर्ने केही काम सक्न दिनुस्। म केही दिनमै बोल्छु।’
नेकपा एमालेको अध्यक्ष बन्ने योजनासहित राजनीतिमा सक्रिय बनेको घोषणा गरेकी भण्डारी सदस्यताबाट नै बञ्चित भएकी छन्।
मंगलबार मध्यरातमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टी विधान, संवैधानिक भावना, मूल्य–मान्यता, नैतिकता र विगतका नजिरहरूका आधारमा भण्डारीको राजनीति पुनः प्रवेशमा प्रतिबन्ध लगाएसँगै अब भण्डारी के गर्लिन् भन्ने चासो बढेको छ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विद्याले आफूलाई चुनौती दिन सक्ने भयले उनको सदस्यता नै रोक्का गरिदिएका हुन्।
यसका लागि ओलीले एमाले विधानको धारा ८ र ९ लाई समाएका छन्। यद्यपि यी धारमा पूर्वराष्ट्रपतिलाई एमाले सदस्यता दिन नसकिने भन्ने उल्लेख छैन।


