काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता कसैले फाल्न नसक्ने चेतावनी दिएकी छन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफूलाई सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने बताएकी हुन्।
‘कसैलाई लाग्यो भन्दैमा पार्टीमा मेरो सदस्यता कसैले फाल्न सक्दैन,’ उनले भनिन्, ‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन। नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको छ।’
आफूलाई सदस्यता नदिए पार्टीको साख गिर्ने उनको भनाइ छ। उनले आवेग र उत्तेजनाका भरमा गरिने यस्ता निर्णयले वास्तविकता छोप्न नसकिने भन्दै विवेकसम्मत निर्णय लिनुपर्छ भन्ने जबजको मर्म भएको बताइन्।


