काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दल र तिनका नेताहरूले आफ्ना कमी-कमजोरीहरूलाई खुलेर स्वीकार्दै जनतामा निराशाको सट्टा आशा र विश्वास जगाउनुपर्ने बेला आएको बताएका छन्। मानव अधिकार तथा शान्ति समाजको काठमाडौं शाखाको साधारण सभालाई सम्बोधन गर्दै उनले दलहरूभित्र आत्मसमीक्षाको गहिरो आवश्यकता रहेको औंल्याए।
‘हामीले गरेका गल्तीहरू छन्, त्यसलाई स्वीकार्नुपर्छ, तर गल्ती दोहोर्याउनु हुँदैन,’ खड्काले भने, ‘अब हामीले एकअर्कालाई दोषारोपण गरेर होइन, जनताको असन्तुष्टिलाई चिनेर समाधान दिने बेला आएको छ।’ उनले जनतामा निराशा नभई राजनीतिक दलहरूप्रति आक्रोश र असन्तुष्टि रहेको बताउँदै त्यसलाई सम्बोधन गर्नु नै अहिलेको मुख्य चुनौती भएको स्पष्ट पारे।
भ्रष्टाचार र कुशासन देशको विकास र उन्नतिका बाधक भएको बताउँदै यसको अन्त्यका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने आह्वान गरे। ‘देशको विकास र उन्नतिका लागि बाधक भनेको भ्रष्टाचार, अनियमितता र कुशासन हो। यसलाई अन्त्य गर्न हामी सबै एकजुट हुनैपर्छ,’ खड्काले थपे।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) लगायत विभिन्न दलका प्रतिनिधिहरू र गोकर्णेश्वर नगरपालिकाका प्रमुखको पनि उपस्थिति रहेको थियो। कार्यक्रमले नेपालको वर्तमान राजनीतिक अवस्था र नागरिक अधिकारका विषयमा एक महत्वपूर्ण बहसको मञ्च प्रदान गरेको थियो।


