काठमाडौँ- नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको समूहमा खुलेको भन्दै एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन्। युवा संघ संस्थापन पक्षले उनलाई निलम्बन गरेको हो।
खरेललाई एक वर्षका लागि निलम्बन गरेको जानकारी महासचिव महेश चौँलागाईले जानकारी दिएका छन्।
साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले खरेललाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको युवा संघ संस्थापनले जानकारी दिएको छ।
संघका महासचिव रमेश चौलागाईले पत्र लेख्दै खरेललाई विधानअनुसार कारबाही गरेको दावी गरेका छन्। उनका गतिविधि विद्या भण्डारी निकट भएपछि उनलाई कारवाही गरिएको बताइएको छ। खरेल विद्या भण्डारीको पक्षमा खुल्दै संस्थापन पक्षको विरोधमा उत्रेका थिए।
यसअघि उनलाई २०८२ असार २५ गते स्पष्टीकरण सोधिएको थियो। उनलाई भौतिक रूपमा नै उपस्थित भएर स्पष्टीकरण दिन भनिएको थियो। उनले भौतिक रुपमा उपस्थित भएर जवाफ दिएनन्। बरु, पत्रमार्फत स्पष्टीकरणमा पठाए।
त्यो पत्रमा समेत गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रले स्पष्टीकरण सोधेको समयमा केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको पनि युवा संघ संस्थापनको आरोप छ।
चरम संगठनात्मक अराजकता प्रकट गरेर संगठनको स्थापित मूल्यमान्यता तथा अनुशासनमा गम्भीर आँच पुर्याएको संघको ठहर छ।


