काठमाडौँ– घुस डिलमा नाम जोडिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ अध्यक्षको जिम्मेवारीबाट अलग भएकी छन्।
रञ्जिता घुस डिलमा मुछिएपछि पार्टीमा विवाद चर्किएपछि त्यसको समाधान खोज्नका लागि उनले आफू अध्यक्षको जिम्मेवारीबाट अलग भएको उल्लेख गरेकी हुन्।
उनले वरिष्ठ उपाध्यक्ष रहेका शिव बास्तोलालाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेकी छन्।
घुस डिलमा मुछिए पनि उनले आफू अस्वस्थ भएकाले बास्तोलालाई कार्यबाहकको जिम्मेवारी दिएको बताएकी छन्।
‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ कार्यवाहक तोकेको पत्रमा रञ्जिताले लेखेकी छन्।
पूर्वमन्त्री राजकुमार गुप्ता तानिएको घुस काण्डमा श्रेष्ठलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तानेको छ।
पोखरामा भएको जग्गाको डिल प्रकरण, मालपोतका हाकिमलगायतको विषयमा गुप्तासँगै श्रेष्ठ पनि तानिएकी हुन्।
बिचौलियासँग घुस डिल गरेको अडिओमा रञ्जिताको पनि संलग्नता भेटेपछि अख्तियारले उनलाई गत बुधबार बयानको लागि समेत बोलाएको थियो।
उता पार्टीका केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
आइतबार बसेको बैठकले २४ घण्टाभित्र स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय गरेको पार्टीका एक नेताले बताए।


