काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली चढेको गाडीलाई पछ्याइरहेका सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी ठोक्किएका छन्।
मंगलबार दिउँसो लम्कीचुहा नगरपालिका-१ मा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की चढेका गाडी जुधेका हुन्।
कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार दुई वटै गाडीले प्रधानमन्त्री केपी शर्मा ओली चढेको गाडीलाई पछ्याइरहेका थिए।
बा २ झ १४१९ नम्बरको गाडीमा मन्त्री पाल सवार थिए। उक्त गाडीलाई पछाडिबाट कानुनमन्त्री सार्की चढेको से १ झ ३३० नम्बरको गाडीले ठक्कर दिएको हो।
चालक आत्तिएर वा ब्रेक नचलेर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। कानुनमन्त्री सार्की सवार से १ झ ३३० गाडीमा बढी क्षति पुगेको छ।
त्यसपछि दुवै मन्त्री बा २ झ १४१९ को गाडीमा चढेर बाटो लागेका थिए।


