२०८३ कार्तिक २५ गते मङ्गलबार

कमला नहरले जगाएको आशा

 |  सुदीप रावत
Sanket

सुदीप रावत

काठमाडौँ, साउन १५
nahar-tarai-kulo-1753930189

सिरहा– भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन्। रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ ! उनी ढुक्क हुन सकिरहेका छैनन्। लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला कि भन्ने शङ्का उहाँको मनमा गडेर बसेको छ। “नहरको पानीले खेत भरिन्छ भन्ने आशा छ, तर कहिलेकाहीँ नहर सुकेको देख्दा मन अमिलो सुक्छ” उनी भन्छन्।

नहरले धोका पो दिन्छ कि भन्ने डर उनमा मात्रै होइन, पूरै गाउँका किसानमा छ। समयमा वर्षा नहुने, कहिले धेरै त कहिले थोरै पानी पर्ने पछिल्ला वर्षहरूका अनुभवले किसानलाई निश्चिन्त हुन दिएको छैन। श्यामलाल जस्ता किसानको जीवन खेतीकिसानीमै निर्भर छ। त्यसैले रोपाइँ ढिला भयो भने ‘सिजन चुक्ने’ डर, बाली राम्रो भएन भने वर्षभरिको आम्दानी गुम्ने पीर। यस्तो अवस्थामा सिँचाइ नहर नै यहाँका किसानको भरोसा बनेको छ तर त्यो आधार पनि मजबुत छैन।

कमला नहरले जगाएको ‘आशा’
श्यामलालको गाउँ नजिकैबाट बगेको कमला सिँचाइ नहर धेरैको आशाको केन्द्र हो। नेपालका ठूला सिँचाइ आयोजनामध्ये एक कमलाले थुप्रै किसानको जीवनशैलीमा ठूलो परिवर्तन ल्याइरहेको छ। यसको ऐतिहासिक महत्त्व पनि उत्तिकै छ। विसं २०१७ साल कात्तिक २६ गते तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिंहले शिलान्यास गरेको यस आयोजनामार्फत विसं २०४० सालदेखि सिँचाइ सुविधा सुरु भएको हो।

कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार हालसम्म यस आयोजनाले पूर्वी खण्डअन्तर्गत सिरहातर्फ करिब १२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ। विशेषगरी कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर नगरपालिकाका साथै विष्णुपुर र औरही गाउँपालिकाका किसानहरूले यसबाट प्रत्यक्ष लाभ लिइरहेका छन्। यस्तै, पश्चिम खण्डअन्तर्गत धनुषातर्फ १२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।

कमला सिँचाइ आयोजनाले ठूलो क्षेत्रफलमा सेवा पुर्‍याए पनि हाल नदीमै पानीको सतह घटेका कारण नहरमा पर्याप्त प्रवाह हुन सकेको छैन। यस्तो अवस्थामा पनि किसानलाई राहत दिने उद्देश्यले कार्यालयले आलोपालो प्रणाली लागू गरेको जनाएको छ। “नहरमा पानीको सतह कम भएकाले शाखागत रूपमा पालो मिलाएर सिँचाइ व्यवस्था मिलाइएको छ”, कार्यालय प्रमुख यादवले भने, “धान रोपाइँलाई ध्यानमा राख्दै असार ९ गतेदेखि नहरमा पानी प्रवाह सुरु गरिएको थियो, तर कमला नदीमै पानीको बहाव कम भएकाले सिँचाइमा चुनौती देखिएको छ।”

उनका अनुसार आवश्यक मात्रामा पानी नआउँदा नहरका सबै शाखा प्रशाखामा एकैपटक सिँचाइ सम्भव नभएकाले विकल्पमा पालो प्रणाली लागू गरिएको हो। यसले सबै किसानको आवश्यकता एकैपटक पूरा गर्न नसकिए पनि सबै ठाउँमा पानी पुर्‍याउन सजिलो भएको छ। “हामीले अनुगमन र व्यवस्थापनलाई सशक्त बनाएका छौँ। पानीको बहाव बढेपछि नियमित आपूर्ति सुनिश्चित गर्नेछौँ”, प्रमुख यादवले भने।

खुट्टीखोला सिँचाइ नहरको सपना अधुरै 
कमला नहरले राहत दिएको छ, तर सिरहाको पूर्वी भेगका किसानलाई लक्षित गरी बनाउने भनिएको लहान नगरपालिका–१० स्थित खुट्टीखोला सिँचाइ आयोजना अझै अधुरो छ। चार वर्षअघि झन्डै रु नौ करोड लागतमा निर्माणको मुख्य संरचना सम्पन्न भइसक्दा पनि खुट्टीखोलाको पानी अझै किसानको खेतसम्म आइपुगेको छैन।

“सिँचाइ आयोजनाको मुख्य संरचना ‘हेडवक्र्स’ तयार छ। नहर पनि बनेको देखिन्छ, तर नहरमा पानी सञ्चालन गरिएको छैन”, लहान–११ का किसान धर्मराज चौधरीले भने, “हरेक वर्ष नहरमा पानी आउने आशामा खेत तयार गर्छौं, तर अन्ततः प्रकृतिमै भर पर्नुपर्छ।”

खुट्टीखोला सिँचाइ आयोजना सुरु हुँदा किसानमा निकै उत्साह थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आए जिल्लाको पूर्वी भागमा सयौँ हेक्टर खेत सिँचित हुने थिए, तर मुख्य नहर बने पनि शाखा नहर, नियन्त्रण गेट, पानी प्रवाहका लागि आवश्यक सानोतिनो संरचना अझै अधुरै छन्।

यस आयोजनामार्फत लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीलगायत चारवटा पालिकाको ९३५ बिघाभन्दा बढी खेतमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। ‘हेडवक्र्स’ बनेपछि उत्साहित बनेका किसान चार वर्षसम्म खेतमा पानी आउने सुनिश्चितता नभएपछि निराश छन्। नहर सञ्चालनको माग गर्दै किसानले सङ्घर्ष समिति गठन गर्नुपरेको थियो। त्यसको दबाबपछि नहर पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको छ।

मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले स्थानीय सरकार किसानका आवश्यकताप्रति संवेदनशील नहुँदा सिँचाइ नहरको काम अगाडि नबढेको बताउँछन्। बर्सेनि पानीको अभावले धान रोप्न नसकिएको अवस्थामा नहर सञ्चालन हुनु जीवनरक्षासँग जोडिएको विषय भएकाले त्यसलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ। चौधरीले भने, “बर्सेनि पानीको अभावमा बाली सुक्छ। यस्तो अवस्थामा सिँचाइ पूर्वाधारको उपेक्षा गर्नु जनताको जीवनमाथिको खेलबहाड हो। नहर राजनीतिक विषय होइन, यो जीवन र खाद्य सुरक्षासँग जोडिएको विषय हो, त्यसैले तत्काल बाँकी काम हुनुपर्छ।”

दुवै सिँचाइ आयोजनाको एकै दिन अनुगमन
कमला र खुट्टीखोला नहरको बुधबार एकै दिन स्थलगत अनुगमन गरिएको छ। कमला सिँचाइको पूर्वी नहर प्रणालीअन्तर्गत कर्जन्हाको पुछार गाउँका किसानले पानी नपाएको गुनासोपछि जनप्रतिनिधि, सिँचाइ कार्यालयका अधिकारी र किसानहरूको टोलीले अनुगमन गरेको हो। अनुगमनपछि सातामा तीन दिन पानी छोड्ने सहमति भएको कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्र पोखरेलले जानकारी दिए।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन गरिएको प्रशाखाले हाल डेढ सय बिघामा सिँचाइ गरिरहेको भए पनि किसानले त्यसलाई एक हजार बिघामा विस्तार गर्न माग गरेका छन्।

यता, लहान नगरपालिका–१० स्थित खुट्टीखोला नहरमा पनि ड्यामस्थलको अनुगमन गरिएको छ। आयोजनाको ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट, समन्वय र विवादका कारण नहर सञ्चालन हुन सकेको छैन।

खडेरीका कारण रोपाइँ प्रभावित भएपछि नहर सुधार र सफाइका लागि मधेस प्रदेश सरकारले छुट्याएको रु १५ लाख बजेटमार्फत सञ्चालनको तयारी गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाले जनाएको छ। अनुगमन टोलीमा प्रदेशसभा सदस्य चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो, सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलका साथै सुरक्षा निकायका उच्च अधिकारीलगायत सहभागी थिए।

अनुगमनका क्रममा स्थानीयले प्रदेश सरकारले न्यून बजेट छुट्याएको गुनासो गरेका थिए। अनुगमन टोलीले स्थलगत अवलोकनपछि नहर छिट्टै सञ्चालनमा ल्याउन सबै सरोकार भएका निकायबीच सहमति भएको जानकारी गराएको थियो।

प्रकाशित: २०८२ साउन १५ गते बिहिबार ०८:४७
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना