काठमाडौँ- मधेशका केही स्थानमा भारी वर्षा भएको छ। केही स्थानमा भने वर्षा भएकै छैन। लामो समयदेखि खडेरी लागेको मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
शनिवार बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा विगत २४ घण्टायता ६३.८ मिलिमिटर वर्षा भएको छ। धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको छ।
यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर वर्षा भएको छ। गौरमा ४५ मिलि वर्षा भएको छ। २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई मौसम विज्ञानमा भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा भएको मानिन्छ।
मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेशनमा ३२.४ मिलिमिटर वर्षा भएको छ। सिरहा र सप्तरीमा भने वर्षा कम भएको छ।
उता वीरगञ्ज र चितवनको पूर्वी भागमा भने वर्षा भएकै छैन। विभागको वेबसाइटमा राखिएको वर्षामापन नक्साको विवरणमा शून्य मिलि वर्षा भएको उल्लेख गरिएको छ। चितवनको भरतपुरमा २४ घण्टामा १.३ मिलि मात्र वर्षा भएको छ। चितवनकै देवघाटमा भने १३ मिलि वर्षा भएको शनिवार बिहानको विवरणले देखाएको छ।
२४ घण्टायता कैलालीको टीकापुरमा वर्षा भएकै छैन तर धनगढीमा भने ४७.४ मिलि वर्षा भएको छ।
आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतिर (नेपालतिर) सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ।


