काठमाडौँ- नेपाल र भारतबीच द्विपक्षीय वार्ता सुरु भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच नयाँदिल्लीको हैदरावाद हाउसमा दुईपक्षीय वार्ता भएको हो।
वार्तामा अर्थतन्त्र, ऊर्जा, पूर्वाधार, शिक्षा र नागरिकस्तरको सदियौँदेखिको सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भइरहेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ।
यसअघि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदी हैदरावाद हाउसमा भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने तालिका बनेको छ। साढे ४ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। यस्तै, प्रधानमन्त्री प्रचण्डले बेलुकी साढे ५ बजे नेपाल–भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ।
भारत भ्रमणका क्रममा भोलि तेस्रो दिन प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्नेछन्। त्यसपछि इन्दोर जाने गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्ड भ्रमणको चौथो दिन जेठ २० गते अपराह्न ४ः२० बजे नयाँदिल्लीबाट काठमाडौं फिर्ता आउनेछन्।
चारदिने भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।
प्रधानमन्त्री प्रचण्डसँग बुधबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका थिए।


