काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नै विद्यालय शिक्षा विधेयक रोकेको आरोप लगाएका छन्।
कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओली नै विधेयकको विरुद्धमा देखिएकाले पनि ढिलाई भएको उनको भनाई छ।
राष्ट्रिय सभागृहमा आज अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड’ विषयक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूहरूले शिक्षक र विद्यार्थीको पक्षमा कुरा गरिरहँदा प्रधानमन्त्री ओली शिक्षकहरूलाई किन सुविधा दिने भनेर गालीगलौज गरिरहेको पनि सुनाए।
असार १५ मै पारित गर्ने भनिएको विद्यालय शिक्षा विधेयकलाई अझै अघि बढाउन सरकार तयार नभएको उनले जिकिर गरे।
माओवादी सार्वजिक शिक्षा सुधारको पक्षमा रहेको र विगतमा प्रयास पनि गरिएको तर सरकार ढलेका कारण कतिपय सुधारका काम रोकिएको उनले बताए।
उनले विश्वविद्यालयलाई आफ्नो पालामा भर्ती केन्द्रबाट छुटकारा दिएको तर अहिले फेरि सरकारले भर्ती केन्द्र बनाएको आरोप पनि लगाए।


