काठमाडौं- प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले आफ्नो समितिले पश्चगमनका कुरा नसुन्ने बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको चिकित्सा शिक्षा: अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन्।
‘समितिले पश्चगमनको कुरा सुन्दैन। प्रधानमन्त्रीले भने पनि सुन्दैन,’ सभापति थापाले भने, ‘यसले अग्रगमनको कुरा मात्र गर्छ।’
चिकित्सा शिक्षा आयोगले पनि अग्रगमनका काम र योजना ल्याए समितिले सदैव सहयोग गर्ने उनको भनाइ थियो।
मेडिकल जनशक्ति अभाव हुन थालेको तर कलेजलाई कोटामा बन्देज लगाउन अवरोध गरेको भन्दै उनले अभियन्ता डा गोविन्द केसीमाथि आक्रोश पनि पोखेका थिए।
डा केसीले सरकारी तलब खाएर मेडिकल शिक्षा ध्वस्त बनाउन अनसन बसेको उनको आरोप थियाे।
समितिबाट शिक्षा विधेयक चाँडै पारित हुने पनि उनले बताए। ‘समितिमा विचाराधीन शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदन हिजो पास भयो। समितिको प्रतिवदेन २-३ दिनमा पास हुन्छ,’ विधेयकबारे बोल्दै उनले भने।


