पर्वत: भदौ महिनाको पहिलो मंगलबार कृषक ‘हरेलो पूजा’ गर्दैछन्। सिमली, कटुस, गिँदरी, पाती लगायतका हाँगामा कटुसका पातमा बेरिएका पोकाहरू झुण्डयाएर विभिन्न अन्नबाली राखी भगवानको नाममा अर्पण गरिन्छ। धानबालीमा कुनै पनि प्रकोप र रोग नलागोस् भनेर प्रार्थना गरिन्छ।
यही हरेलोको पूजा गरेपछि रोपाइँ गर्न नहुने मान्यता पर्वत सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेको छ। हरेलो पूजासम्म रोपाइँ भइसकेको हुने र कुनै कारणवश रोपाइ नभएको भएमा पूजा नै सारेर रोपाइँ गर्ने चलन पनि छ। जब हरेलो पूजा हुन्छ तब मात्रै कृषकहरूलाई ‘असारे चटारो’ सकिएको लाग्छ। हरेलो पूजा सकेपछि जेठ-असारमा रोपाइका लागि निकालेका हला, जुवा लगायतका रोपाइ सामग्री धोइ पखाली गर्ने गरिन्छ।
यही हरेलो पूजाको दिन अघिसम्म आइपुग्दा गण्डकी प्रदेशमा धान रोपाइँ हुने अनुमान गरिएकोमध्ये ९३ प्रतिशत खेतमा रोपाइँ पूरा भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीका अनुसार प्रदेशका नौ जिल्लामा यो बर्खामा ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा ८७ हजार ८०९ हेक्टर क्षेत्रफलमा रोपाइ भएको छ। जुन अनुमान गरिएकोमध्येको ९३.२३ प्रतिशत क्षेत्रफलमा रोपाइ भएको हो। गत आर्थिक वर्ष २०८०र०८१ मा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएकोमा चालु आर्थिक वर्षमा केही क्षेत्रफलमा रोपाइँ घट्ने अनुमान गरिएको थियो। गण्डकीमा ११ जिल्ला रहेको भए पनि हिमाल पारीको जिल्लाका रूपमा रहेका मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन।
मन्त्रालयको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी रोपाइँ कास्की जिल्लमा ९९.५७ प्रतिशत भएको छ भने सबैभन्दा कम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८२.७० प्रतिशत रोपाइ भएको छ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा एक हजार ७१६ हेक्टर कम क्षेत्रफलमा धान लगाइएको थियो। उक्त वर्ष ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउँदा यस वर्ष भने पोहोरको तुलनामा तीन हजार ५८७ हेक्टर कम क्षेत्रफलमा रोपाइँ हुन सक्ने अनुमान गरिएको थियो। २०८० सालको तुलनामा ०८१ सालमा करिब १.८ प्रतिशत कम क्षेत्रफलमा रोपाइँ भएको हो भने यो वर्ष भदौसम्म रोपाइँ हुँदा पोहोरका तुलनामा ८.५८ प्रतिशतले कम रोपाइँ भएको हो।
पैसाको उपलब्धता, आयातमा भएको निर्भरता, मानिसमा बढ्दै गएको अल्छीपना, बसाइँसराइ, वन्यजन्तुको प्रकोप, मौसमको असामान्य अवस्था, लगायतका कारण धान लगाइने क्षेत्रफल घट्दै गएको हुन सक्ने अनुमान गरिएको बताउँछन्। आवश्यक भएको समयमा वर्षा नहुने लगायतका मौसमी समस्याका कारण पनि कतिपय क्षेत्रमा धान लगाइने क्षेत्रफल घट्दै गएको उनको भनाइ छ।


