काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय आफूलाई संसद्मा बेकार आइएछ जस्तो लाग्न थालेको बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले अन्तरिम कालदेखि आफू संसद्मा रहेकोमा पछिल्लो समय कानुन नै चोरी हुने संसद्मा किन आइएछ भन्ने लाग्न थालेको टिप्पणी गरे। उनले भने, ‘कानुन त चोरी हुने संसद्मा बेकार आइएछ जस्तो लाग्छ आजभोलि। कानून नै चोरी हुन्छ। अलि दिक्क लागेर होला। अलि पुरानो भएर पनि होला।’
जनताले संविधानको उपभोग गर्ने अवस्था बनाउनबाट आफूहरू चुकेको पनि उनले स्वीकार गरे। त्यस ठाउँमा आफूहरू नै भएकाले उक्त अवस्था निर्माण गर्न आफूहरू असफल भएको आत्मस्वीकारोक्ति उनको थियो।
‘संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ। उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ। यो मैले गरेको प्रश्न म आफैँलाई हो,’ उनले भने, ‘तर मैले आफैँलाई गरेको प्रश्नले अरु तर्सिन्छन् र पो गाह्रो छ। प्रश्न आफैँलाई गरेको हो। किनभने त्यस ठाउँमा त हामी नै छौँ।’


