काठमाडौँ। २०६० भदौ ८ गते सशस्त्र द्वन्द्वकालमा सुरक्षाकर्मीद्वारा हत्या गरिएकी मैना सुनुवारको मुद्दामा आज फैसला नसुनाइने भएको छ।
गत असार २२ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै भदौ ८ गते निर्णय सुनाउने मिति तय भएको थियो। तर आज उक्त इजलास नै नबसेपछि निर्णय सुनाउने मिति सर्ने भएको हो।
इजलासमा न्यायाधीश फुयाँल अनुपस्थित भएका हुन्।
१५ वर्षीया मैना सुनुवारलाई तत्कालीन सेनानी बबी खत्रीको नेतृत्वमा सेनाले पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्रमा लगेर यातना दिएर हत्या गरेका थिए। संयुक्त राष्ट्रसंघीय मानवअधिकारको प्रतिवेदनअनुसार डेढ घण्टासम्म यातना दिएपछि उनलाई कोठामा थुनेर हत्या गरिएको थियो।
२०७४ वैशाखमा काभ्रे जिल्ला अदालतले खत्रीसहित सहसेनानीहरू अमिल पुन र सुनिलप्रसाद अधिकारीलाई जन्मकैदको फैसला सुनाएको थियो। तर सेनाले सर्वोच्च अदालतमा फैसला खारेज गर्न भ्याकेट निवेदन दिएको थियो।
नेपाली सेनाले जिल्ला अदालतको फैसला खारेजीको माग गर्दै मुद्दा दायर गरेसँगै २०८० भदौ ७ गते मैनाकी आमा देवी सुनुवारले सेनाका तीन अधिकारीलाई विपक्षी बनाउँदै कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएकी थिइन्।


