काठमाडौँ- विपद् प्रतिकार्यका लागि नेपाल प्रहरीले ८४८ जनशक्ति उत्पादन गरेको छ। प्रहरीका ४८७ जना र ३६१ जना नागरिकलाई विपद् प्रतिकार्यको तालिम दिइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको हो।
‘विपद् प्रतिकार्यका लागि आवश्यक सामानसहित यो जनशक्तिलाई तयारी अवस्थामा राखेका छौँ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले भने।
अहिले उपत्यका प्रहरीसित रबर बोट ७, लाइफ ज्याकेट १ हजार ३९१, ट्युव १ सय ६० र लाइफ डोरी ६ हजार ३५४ मिटर रहेको प्रवक्ता एसएसपी खनालले जानकारी दिए। यस्तै प्रहरीसित अग्नि नियन्त्रण उपकरण २ हजार ११७, फायर सुट ४४ र ड्रिल मेसिन १६ रहेका छन्।
यी उपकरण काठमाडौं, ललितपुर, भक्तपुर प्रहरी परिसर र १८ वटै वृत्तमा तयारी अवस्थामा राखिएको छ।


