काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिमा रिक्त बनेको सभापति पदका लागि बुधवार निर्वाचन हुने भएको छ।
सभामुख देवराज घिमिरेले राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन बुधबार तोकेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका हुन्।
समितिमा यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा सभापति थिए। निजामति सेवा विधेयकमा तोक्न खोजिएको दुई वर्षे ‘कुलिङ अफ पिरियड’लाई निष्प्रभावी बनाउन भूमिका खेलेको आरोप लागेपछि उनले राजीनामा दिएपछि सभापति पद रिक्त बनेको हो।
कांग्रेस र एमालेले फेरि पनि उक्त पद कांग्रेसले नै पाउने समझदारी गरिसकेका छन्। कांग्रेसबाट उक्त पदका लागि चार जना सांसदहरू आकांक्षी देखिएका छन्।
समितिमा कांग्रेसका अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णवहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य छन्।
सभापतिका लागि बडू, बस्नेत, प्रसाई र थानीले दावेदारी गरेका छन्।
२७ सदस्यीय समितिमा कांग्रेसका ९ सांसद छन्। नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ। यो सभापति निर्वाचनका लागि बहुमत हो। बहुमतका लागि १४ सांसद आवश्यक छ।
समितिमा लोसपा, जनमत र जसपाका एकएक सदस्य छन्। उनीहरू सत्तामा रहेकाले उनीहरूको संख्या जोडिँदा समितिमा १८ जना सांसद संख्या पुग्छ।


