काठमाडौँ। सर्वोच्च अदालतले महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर परिसरमा नग्न साधुहरूलाई निषेध गरिपाऊँ भनी दायर गरिएको रिट खारेज गर्दै नग्नता र अश्लिलताको व्याख्या गरेको छ। अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा न्यायाधीशद्वय कुमार चूडाल र नहकुल सुवेदीको संयुक्त इजलासले २०८१ भदौ २७ गते नग्नता र अश्लिलताको व्याख्यासहित नागा साधुलाई पशुपतिमा निषेध गर्न नसकिने आदेश गरेको थियो।
आदेशको हालै पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले नागा सन्यासी साधुहरूले शरीरमा कुनै वस्त्र धारण नगरी गोप्य अङ्गसमेत नछोप्नुलाई अश्लीलताको प्रदर्शन गरेको भन्न नमिल्ने व्याख्या गरेको छ।
‘नागा सन्यासी साधुहरू शरीरमा कुनै वस्त्र धारण नगरी गोप्य अङ्गसमेत नछोपी शरीर भरी खरानी घसी अग्नीको उपासना गरी धुनी जगाई बस्ने गरेको भन्ने विपक्षीहरूको लिखित जवाफबाट देखिए तापनि उक्त कृत्य सनातन धार्मिक अभ्यास र परम्परा बमोजिमको रहेको देखिएको र नागा साधुहरू मन्दिर परिसरमा नाङ्गै रहनुलाई सामाजिक र नैतिक स्वीकार्यताको दृष्टिले समेत अन्यथा नदेखिएको स्थितिमा निजहरूले अश्लीलताको प्रदर्शन गरेको भन्न मिलेन,’ पूर्णपाठमा भनिएको छ।
नागा साधुहरूको यस किसिमको अभ्यास र व्यवहार सनातनदेखि चलिआएको र यसलाई धार्मिक, सामाजिक र नैतिक मूल्यका दृष्टिले समेत स्वीकार्य नै मानिएको हुँदा नागा साधुहरूले धार्मिक स्थलमा सार्वजनिक नैतिकता र शिष्टाचार विपरीत अश्लीलता प्रदर्शन गरेको भनी मान्न नमिल्ने व्याख्या सर्वोच्चको छ।
नागा साधुहरू नाङ्गै बस्नुको उद्देश्य दर्शनार्थी भक्तजनहरूको कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा निजहरूको सोचलाई भ्रष्ट र चरित्रहीन गराउने उद्देश्यले नभई सनातन अभ्यास र परम्पराअनुसार भगवान् पशुपतिनाथ प्रतिको भक्ति, समर्पण र साधनाका रुपमा नाङ्गै बसेको भन्ने देखिने सर्वोच्चको ठहर छ। यसबाट भक्तजनहरू यौनिक रूपमा दिग्भ्रमित वा चरित्रहीन बन्न पुग्ने वा सोबाट महिला बालबालिका आदि भक्तजनहरूमा यौनहिंसा हुन जाने भन्ने निवेदकको दाबी स्वाभाविक र तर्कसंगत नदेखिएको पूर्णपाठमा भनिएको छ।
गौतम धर्मसूत्र, महाभारत (अनुशासन पर्व, वैखानसधर्मसूत्र, लघु- विष्णु), अथर्ववेदीय आश्रमोपनिषद्, आपस्तम्ब धर्मसूत्रम्मा समेत सन्न्यासीहरुका लागि कौपीन वस्त्र (लगौंटी) समेत त्याज्य छ भनी परमहंस सन्न्यास परम्परामा निर्वस्त्र रहनुलाई शास्त्रीय मत अनुकूल मानेको देखिएकाले सन्न्यासीहरूका लागि निर्वस्त्र रहनु धार्मिक नियमको पालना गरेको भन्ने देखिने सर्वोच्चको व्याख्यामा उल्लेख गरिएको छ।
वस्त्र त्याग गर्नु भनेको लज्जा र अहङ्कारको पनि त्याग भएको र सबै प्रकारका भौतिक वस्तुबाट अलग हुनु रहेको सर्वोच्चको ठहर छ। तसर्थ नागा साधुहरू मन्दिर परिसरमा नाङ्गै रहनुलाई सामाजिक र नैतिक स्वीकार्यताको दृष्टिले समेत अन्यथा मान्न नमिल्ने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ। पशुपति क्षेत्र विकास कोषले नागा साधुहरूलाई खास स्थान वा क्षेत्र तोक्न सक्ने देखिए तापनि निजहरूलाई भगवान् पशुपतिनाथ मन्दिरको परिसरमा प्रवेश नै निषेध गर्दा सनातनदेखि चलिआएको परम्परा नै हस्क्षेप हुन जाने ठहर गर्दै सर्वोच्चले यसरी आउने साधु सन्त जोगी आदिलाई सामान्य दक्षिणा दिई बिदाई गर्नु धार्मिक र सामाजिक संस्कार र परम्परासमेत भएको बताएको छ। जसकारण यस परम्परालाई रोक्न नसकिने आदेश गरेको छ।


