रौतहट- लक्ष्मण पासवानले प्रेमिका रुबीकुमारी साहको हत्या गरेको स्वीकारेका छन्। चार दिनअघि (शनिबार) रौतहट जिल्लाको माधवनारायण-६ माधोपुरकी ३० वर्षीया साहको शव सुटकेसमा भेटिएको थियो।
प्रेमिकाको हत्या गरेपछि एक भिडियो बनाएर पासवानले आफूले हत्या गरेको स्वीकार गरेका हुन्। रुबीको हत्या गरी भिडियो बनाएपछि उनले आत्मदाह गरी आत्महत्याको प्रयास पनि गरेका थिए। तर घाइते अवस्थामा उनको उद्धार गरी उपचार जारी छ।
स्थानीयका अनुसार रौतहट मानपुर बिसनपुर्वास्थित खेतमा जलिरहेको अवस्थामा भेटिएका थिए। स्थानीयले पासवान जलिरहेको खबर प्रहरीलाई गरेका थिए।
रुबीको हत्यापछि पासवानले बनाएको भिडियो ९ मिनेटको छ। पासवानले रुबीकी आमालाई मुख्य दोषी भएको आरोप लगाएका छन्। आत्मदाहसम्म गर्नुअघि उनले बनाएको भिडियोमा आफूहरूबीच प्रेम सम्बन्ध रहेको उल्लेख छ।
कक्षा १० मा पढ्दा रुबीसँग आफ्नो प्रेम भएको तर रुबीकी आमा आफूहरूको विवाह स्वीकार नगरेको पासवानको भनाइ छ।
पासवानले बनाएको भिडियोमा राजन, राजु, राजा र रुबीकी आमालाई दोष दिइएको छ। पैसाको लोभमा राजन, राजु र राजासित रुबीको सम्बन्ध राख्न उनकी आमाले लगाएको गम्भीर आरोप पनि लगाइएको छ।
भिडियोमा पासवानले रुबीको हत्या आफूले नै गरेको स्वीकार गर्दै ‘रुबी मरिसकेकी छन्, म बाँचेर के गर्नु ?’ भन्दै आत्महत्याको संकेत गरेका छन्।
गत शनिबार राति रुबीलाई हत्या गरेर सुटकेसभित्र हालेर गौर–सिरसिया खण्डको मुडबलवा गेट नजिक फ्यालेपछि लक्ष्मण फरार भएका थिए।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा लक्ष्मणकै संलग्नता देखिएको थियो। रौतहटका डीएसपी राजु कार्कीका अनुसार ‘भिडियो हेर्दा दुवैबीच लामो समयदेखि कुनै न कुनै सम्बन्ध रहेको’ देखिन्छ।
भिडियोमा लक्ष्मणले रुबीको मृत्युले आफ्नो जीवन शून्य भएको भन्दै प्रहरीलाई सलाम गरेको दृश्य छ। ‘मेरो जान मरिसकेकी छिन्। म बाँचेर के गर्नु? पक्राउ परे पनि १०/१५ वर्ष जेल जानु पर्छ। म जेल बस्न तयार छु,’ भन्दै उनले आफू सजाय स्वीकार्न तयार रहेको जनाएका छन्। उनले अपराधपछिको मानसिक पीडा र अपराधबोध स्पष्ट देखाएका छन्।
पासवानको दाहिने हातमा ‘माई हार्ट रुबी कुमारी’ भनेर ट्याटु खोपिएको छ, भने छातीमा समेत रुबीको तस्वीर कोरिएको फोटोहरु समाजिक सञ्जालमा छन्। यसले प्रेममा डुबेको मनोविज्ञान र त्यसकै अन्धाधुन्ध परिणाम स्वरूप घटेको घटनालाई थप रहस्यमयी बनाएको छ।
रुबी साह घर मूलतः भारतको मुजफ्फरपुर हो। माधव नारायण नगरपालिका–६ माधोपुर माइती भएकी उनले गौरमा डेरा लिएर चार वर्षीया छोरीलाई पढाउँदै आएकी थिइन्। लक्ष्मणको घर र रुबीको माइती एउटै टोलमा भएकोले उनीहरूको सम्बन्ध गहिरिएको अनुमान प्रहरीले गरेको छ।


