काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले आइतबारदेखि आमरण अनसन सुरु गर्ने भएका छन्।
‘मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असरपार्ने प्रधानमन्त्री(नेता) र आयोगका पदाधिकारीले हालै गरेका स्वार्थपरक निर्णयले गरिबको मात्र होइन बुद्धिजीवी, पत्रकार लगायत सबै नेपालीको स्वास्थ्य प्रभावित हुन्छ। मानवजातिको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकै स्वास्थ्य हो। गुणस्तरीय, निशुल्क तथा सस्तो शिक्षा तथा स्वास्थ्यसेवामा सबै नेपालीको समतामूलक पहुँचको सुनिश्चितताको लागि लड्दै आयौं र लडिरहने छौं। सरकारको हालैको सो निर्णय फिर्ता लिन हामीले गरेको बारम्बार अनुरोधको बेवास्ता भएकोले सत्याग्रह गर्ने घोषणा गरेका थियौं, शारीरिक अशक्तताको बाबजुद भदौ १५, २०८२का दिन सत्याग्रह शुरु गर्ने जानकारी गराउन चाहन्छौं,’ डा केसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
आयोगले सरकारी संस्थामा एमबीबीएस तथा बीडीएसको सिट नबढाएर निजीको बढाउने निर्णय गरेको छ। एक सय सिट भएका मेडिकल कलेजलाई १३० सिटसम्म दिने निर्णय आयोगले गरेको छ।


