२०८३ कार्तिक १६ गते आईतबार

सेयर एन्ड केयरको ‘प्याराडाइज हिल्स’: सामाजिक उद्यमशीलताको नयाँ आयाम

 |  कुसुम बिन्दास
Sanket

कुसुम बिन्दास

काठमाडौँ, भदौ १९
hotel (1)

काठमाडौंः सामुदायिक रूपान्तरणको अभियानमा तीन दशकदेखि क्रियाशील संस्था सेयर एन्ड केयरका अध्यक्ष रमेशकुमार खड्काले बाँडेगाउँमा अवस्थित रिसोर्टको नाम ‘प्याराडाइज हिल्स’ राख्नुको रोचक प्रसङ्ग छ।

एक त गोदावरी यस्तो क्षेत्र हो, जसलाई चराहरूको स्वर्ग मानिन्छ। ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई ‘चरा हब’कै रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। यो क्षेत्रमा केही वर्षअघि जम्मा दुई दिन मात्र गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेका थिए। काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा दहमा आउने चराहरू घट्दै गए पनि गोदावरी, फूलचोकी तथा रानीकोट क्षेत्र चराहरूका लागि अझै पनि उत्कृष्ट बासस्थान हुन्।

अब ‘प्याराडाइज’ को कुरा। गोदावरी क्षेत्रमा हरेक वर्ष ‘बर्ड अफ प्याराडाइज’ नामक चरासमेत आउने गर्छन् रे। त्यसैले यो क्षेत्रसँग ‘प्याराडाइज’ शब्दको त्यसै पनि तादात्म्य हुने नै भयो। यद्यपि, ‘प्याराडाइज’ नाम राख्ने दरिलो प्रेरणा भने अध्यक्ष खड्काले एकजना विदेशी मित्रबाट पाएका रहेछन्।

एक दिन ती मित्रलाई क्यान्सर भएको थाहा भयो। मरेर स्वर्ग अर्थात् ‘हेभेन’ जानु त छँदैछ, जिउँदै स्वर्ग अर्थात् ‘प्याराडाइज’ हेर्ने उनको रहर। एक दिन श्रीमतीलाई भनेछन्, ‘मेरो लागि प्याराडाइजको टिकट काटेर ल्याऊ त।’

‘कहाँ छ यो प्याराडाइज?’, श्रीमतीको आश्चर्यमिश्रित प्रश्न।

‘प्याराडाइज भनेको नेपाल हो। नेपालमा मायालु मानिस छन्, म त्यो स्वर्गमा जान चाहन्छु,’ श्रीमानले भनेछन्।

ती मित्रको ‘प्याराडाइज’ शब्दको मर्म बुझेपछि मरेपछि ‘हेभेन’ या ‘हेल’ जहाँ पुगे पनि जिउँदो छँदै ‘प्याराडाइज’मा रमाउनुपर्छ भन्ने सोच राखेर रिसोर्टको नाम ‘प्याराडाइज हिल्स’ राखियो, जसलाई अहिले सेयर एन्ड केयर नेपालको आय आर्जनको माध्यम मात्र नभएर सामाजिक उद्यमशीलता बढाउने केन्द्रकै रूपमा विकास गरिएको छ।

सांस्कृतिक महत्त्वको स्वेत बाराही मन्दिर नजिकै प्याराडाइज हिल्सबाट मनोरम दृश्य हेर्न सकिने मात्र होइन, शान्त वातावरणमा विश्राम गर्न र खानपिन गर्न सकिन्छ। १४ वटा डिलक्स रुम भएको होटलमा सुविधा सम्पन्न रेस्टुरेन्ट, ब्यांक्वेट र कन्फ्रेन्स हल रहेका छन्। यो रिसोर्ट काठमाडौंबाट त्यति टाढा पनि छैन। ललितपुरको सातदोबाटोबाट तीन किलोमिटर दूरीमा रहेको प्याराडाइज हिल्समा आत्मीय आतिथ्यता, बेग्लै स्वादका परिकारहरू, सुविधाजनक रेस्टुरेन्ट, बार, ब्यांक्वेट, सेमिनार हल, साउना र स्टिमलगायतका सुविधा उपलब्ध छन्।

यो यस्तो केन्द्र हो, जहाँ इभेन्ट म्यानेजमेन्ट, पिकनिक, फेमिली ग्यादरिङ, मिटिङ, सेमिनार, विवाह, बर्थडे लगायतका विभिन्न पार्टीको आयोजना गर्न सकिन्छ। कुनै कार्यक्रम गर्न कन्फ्रेन्स हल र पर्याप्त पार्किङको सुविधासमेत रहेको रिसोर्ट वास्तवमै ‘प्याराडाइज’ अर्थात् स्वर्गजस्तै देखिन्छ।

सामाजिक उद्यमशीलताको नमुना
यो यस्तो रिसोर्ट हो, जहाँ विकास पर्यटक, आन्तरिक या बाह्य पर्यटकलाई सेवा दिएर आय आर्जन मात्र गरिँदैन, यसलाई सिकाइको केन्द्रकै रूपमा विकास गरिएको छ भन्दा अत्युक्ति नहोला। सेयर एन्ड केयरको भगिनी संस्थाका रूपमा यो रिसोर्टले भविष्यमा दाताहरूबाट सहयोग नआएको खण्डमासमेत संस्थाको अभियानलाई टेवा दिने हिसाबले व्यवस्थापन गरिएको छ।

प्याराडाइज हिल्स यहाँ आउने ग्राहकका लागि मात्र स्वर्ग होइन, कामदारहरूका लागि समेत स्वर्ग सरह छ। रिसोर्टमा काम गर्ने सबै ‘प्रोफेसनल’ छैनन्। संस्थाले ‘नन-प्रोफेसनल’ मानिसलाई ल्याएर रूपान्तरित गर्दै, सिकाउँदै दक्ष बनाउने गर्छ। रिसोर्टका हरेक स्टाफहरूको आफ्नै बेग्लै कथा छ।

सीप नभएकालाई समेत मौका दिएर यहाँ हाउस तालिम, बार तालिम, गार्डेनिङ र कुकिङलगायत धेरै खालका तालिम दिइन्छ। पैसा तिरेर तालिम लिन नसक्ने निम्न आय भएका मानिसलाई पनि निःशुल्क तालिम दिइन्छ। ‘प्याराडाइज अन्य रिसोर्टजस्तो रिसोर्ट होइन, सामाजिक उद्यमशीलता र सामाजिक प्रभावको नमुना हो,’ अध्यक्ष खड्का भन्छन्।

‘प्याराडाइज’ को प्रेरक पृष्ठभूमि
सेयर एन्ड केयरका अध्यक्ष रमेश खड्का कुनैबेला दन्त चिकित्सा सहयोगीका रूपमा फर्पिङलगायत काठमाडौं आसपासका गाउँ-गाउँमा पुग्ने गर्थे। दुःखमा परेकाहरू देखेपछि भित्रैदेखि रूपान्तरित भई विस्तारै सेवामै लाग्ने प्रेरणा जागेपछि र भारतको जामखेदमा आयोजित विशेष तालिममा सहभागी भएपछि रमेशले परिवर्तन तथा रूपान्तरणमुखी अभियानमा आफूलाई होमे। सेयर एन्ड केयरको माध्यमबाट उनले सामुदायिक रूपान्तरणको अभियान चलाएको पनि तीन दशक बितिसकेको छ, जसका बारेमा बेग्लै आलेख तयार हुनसक्छ।

यो आलेखमा ‘प्याराडाइज’ कै चर्चा गरौं। आफ्ना उत्कृष्ट अभ्यासहरूलाई अन्यत्रसमेत फैलाउने, कमजोरीहरू दोहोरिन नदिने र उपलब्धिको अनुशरण गर्न लगाउने हिसाबले सेयर एन्ड केयरको पहलमा नेपालमा समुदाय विकास र व्यवस्थापन अर्थात् ‘सीडीएम’ तालिमको पाठ्यक्रम नै तयार गरियो। आफू मात्र रूपान्तरित भएर हुँदैन, अरू पनि रूपान्तरित हुनुपर्छ भन्ने सोचका साथ काम गर्ने ऊर्जा र उत्साह भएका, तर कुनै पनि प्रोजेक्ट कसरी चलाउने भनेर ढङ्ग नभएका मानिसका लागि त्यो कोर्स तयार गरिएको थियो।

तालिमको प्रभावकारी सञ्चालनका लागि एउटा तालिम केन्द्रको आवश्यकता थियो। त्यसैले ललितपुरको बाँडेगाउँमा तीन रोपनी जग्गा खरिद गरेर सन् २००९ मा तालिम केन्द्र भवनसमेत निर्माण गरियो।

‘रूपान्तरित व्यक्तिले मात्र समाज रूपान्तरण गर्नसक्छ, यसर्थ व्यक्ति रूपान्तरित हुनका लागि उसको सोच, विचार, भावना, ज्ञान, सीप र प्रवृत्तिमा परिवर्तन आउन जरुरी हुन्छ। यसैलाई प्राथमिकतामा राखी ‘डिप्लोमा कोर्स अन कम्युनिटी डेभलपमेन्ट म्यानेजमेन्ट (समुदाय विकास व्यवस्थापन तालिम) अघि सारियो,’ अध्यक्ष रमेश ती दिनहरू सम्झन्छन्।

तालिमको माध्यमद्वारा ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गरी कुनै पनि समुदायलाई रूपान्तरण गर्न अभिप्रेरित गर्न थालियो। अब यो तालिमले गुणात्मक फड्को मार्न थाल्यो। सेयर एन्ड केयर नेपालले सन् २०१३ देखि ‘समुदाय विकास व्यवस्थापन डिप्लोमा कोर्स’ प्रारम्भ गऱ्यो। देशभरि रहेका १८ वटा जिल्लाका २५ जना सामुदायिक विकास कार्यकर्ताका लागि सामुदायिक विकास व्यवस्थापन कार्यक्रमको सुरुवात गरियो। सामुदायिक विकास र रूपान्तरण क्षेत्रमा नेपालका विभिन्न जिल्लामा कार्य गर्ने विभिन्न सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी तथा समुदायमा आधारित संघसंस्थाहरूका कर्मचारी, सामाजिक कार्यकर्ता, सहजकर्ता तथा स्वयंसेवकले एकवर्षे सामुदायिक विकास व्यवस्थापन तालिम ग्रहण गर्न थाले। एक–वर्षीय तालिमलाई एक महिना आवासीय, चार महिना अनलाइन र सात महिना कार्यक्षेत्रीय अभ्यास भनेर पुनः डिजाइन गरियो।

यसैबीच सन् २०१३ मा भारत, बङ्गलादेश, पाकिस्तान र नेपालका तर्फबाट टियर अस्ट्रेलियाको साझेदार संस्थाका लागि स्वयं सहायक समूह साझेदारी कार्यशालाको आयोजना र व्यवस्थापनसमेत गरियो। त्यसयता ललितपुरको बाँडेगाउँमा रहेको परिवर्तन केन्द्रमा संस्थाका कर्मचारी र अन्य सदस्यहरूको ज्ञान र सीप वृद्धिका लागि नियमित रूपमा आन्तरिक तालिम र सिकाइसँगै आपसमा बाँडचुँड कार्यक्रमको आयोजना हुँदै आएको छ।

अब बाँडेगाउँको तालिम केन्द्रमा बहुआयामिक तालिमको सुरुवात भयो। आधुनिक पद्धतिका साथ प्रयोगात्मक तालिम दिन थालियो। स्कुल र कलेजमा पढाएजस्तो नभई संस्थाले व्यावहारिक र प्रयोगात्मक तालिम दिने भएकाले यो उपयोगी पनि भयो। अनौपचारिक ढङ्गले सीप र ज्ञानको गहिराइसम्म पुगेर सिकाउने कोसिस गरियो। नेतृत्व विकास तालिम, इन्टरनल लिडरसिप डेभलपमेन्ट भन्दै मम बनाउने प्रतिस्पर्धा गराउने प्रक्रिया अपनाइयो।

टिम बिल्डिङ भन्दै खाना पकाउन लगाइयो। खाना बनाउन एउटा टिम नै सक्रिय हुने भएकाले कसले तरकारी पकाउने, कसले दाल पकाउने, मसला कसले तयार गर्ने, तरकारी कसले काट्ने, सबैलाई आ-आफ्नो जिम्मेवारी तोकियो। यसरी एउटा टिम वर्कमा काम गर्दा काम सहजै सफल पनि हुने भयो। यसरी व्यावहारिक रूपमै सिकाउने शैली अपनाइयो। तालिमबाट सीप र ज्ञान मात्र हस्तान्तरण भएको होइन, यसले मानिसमा ‘बिहेभियर चेन्ज’ अर्थात् बानी–बेहोरामा पनि परिवर्तन आउन थालेको देखियो।

संस्थाको मान्यता के रह्यो भने रूपान्तरण भनेको सर्पले काँचुली फेरेजस्तो होइन, झुसिलकीरा पुतली भएजस्तो हुनुपर्छ। अर्थात् सर्पले काँचुली फेरेजस्तो बाहिरी आवरण मात्र बदलिएर हुँदैन, रूपान्तरण त यस्तो होस्, जसले मानिसलाई भित्रैदेखि बदलोस्। उसको रूप मात्र होइन, स्वभाव र सोचमा पनि परिवर्तन ल्याओस्। यही हो रूपान्तरणको असली अर्थ र सीडीएम तालिमको उद्देश्य पनि। यही कारण बाँडेगाउँको तालिम केन्द्रको नाम नै ‘ट्रान्सफरमेसन सेन्टर’ राखियो।

हुन पनि तालिमले समुदायमा राम्रै प्रभाव पार्दै गयो। गाउँ-गाउँमा सामाजिक अभियन्ता र अगुवाहरूले समुदाय भनेको के हो, समुदायका समस्या के हुन्? समुदायको जरो के हो? समुदायमा कसरी काम गर्ने आदि कुराहरू सिके। विकासको परिभाषा बुझे। समुदाय, गरिबी, समस्या, भोकमरी, समृद्धि, स्वास्थ्य, अभाव आदि कयौँ शब्दका अर्थ र समस्याको चुरो मात्र होइन, समुदाय परिचालनका कलासमेत सिके।

‘विकास भनेको पूर्वाधार मात्र होइन, चेतनाको विकास, सोचाइ विकास हो, विकासका चरणहरू हुन्छन्। एप्रोच र पद्धतिहरू हुन्छन्। कल्याणकारी तथा राहतमुखी पद्धति, परिवर्तन र विकासमुखी पद्धति अनि रूपान्तरणमुखी र सशक्तीकरणमुखी एप्रोचबारे हामीले बुझाउने काम गऱ्यौँ,’ अध्यक्ष खड्का भन्छन्।

‘कोभिड’पछिको कुशल कर्म
एक पटक साझेदार संस्थाका प्रतिनिधि कै सल्लाहमा तालिम केन्द्रका १० वटा कोठाको रेनोभेसन गरियो। त्यसो गर्नुको पनि कारण थियो। साझेदार संस्थाका प्रतिनिधिले साझा शौचालय होइन, अट्याच चाहिन्छ भनेकाले अट्याच बाथरुमसहितका कोठा बनाइयो भने एउटा राम्रो हलको निर्माण गरियो। पारदर्शी ‘ओपन किचन’ तयार गरियो, दाताहरुकै क्राइटेरिया अनुसार।

यसरी सिक्ने, सिकाउने र समुदायलाई जगाउने अभियानले उत्कर्ष लिँदै गर्दा र तालिम केन्द्रले पनि मुहार फेरिरहँदा एक्कासि कोभिड प्रकोप सुरु भइहाल्यो।

‘जसै कोभिडको प्रकोप आयो, अनि त बाँच्नु नै सबैभन्दा ठूलो कुरा हुन भयो। हामीले तालिमलाई भन्दा पनि बाँच्ने बचाउने अभियानमा आफूलाई होम्यौँ,’ अध्यक्ष खड्का भन्छन्।

कोभिड प्रकोपकै कारण तालिमका कार्यक्रमहरू रोकिए। साझेदार संस्थाका प्रतिनिधि र अन्य शुभचिन्तकहरूले तालिम केन्द्रलाई अब बेग्लै ढङ्गले अघि बढ्न सल्लाह दिए। त्यसपछि एनजीओले अब दाताको मात्र मुख ताक्ने होइन, आफैंले कमाउने वातावरण बनाउनुपर्छ भन्ने सोचको विकास हुँदै गयो।

तर, एनजीओले आय आर्जनको काम गर्न नमिल्ने। यस्तो उल्झनकै बीचमा तालिम केन्द्रसहितको एउटा आकर्षक रिसोर्ट सञ्चालन गर्ने उपाय निस्कियो। तालिम भएको बेला तालिम, नभएको बेला अन्य ग्राहकका लागि रिसोर्ट।

हो, यही प्याराडाइज रिसोर्टले भोलि शुक्रबार आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सव मनाउँदैछ। संयोगले त्यसै दिन मानव बेचबिखन विरुद्धको दिवस परेको छ र सेयर एन्ड केयरले लामो समयदेखि मानव बेचबिखनविरुद्धको अभियान चलाउँदै आएकाले शुक्रबारको एनिभर्सरी भव्य हुँदैछ।

प्याराडाइज हिल्सले वार्षिकोत्सव मनाउने नौलो शैली अपनाउँदैछ। छिमेकीहरूलाई बोलाएर भोज खुवाउने मात्र होइन, छिमेकीका गुनासा, सल्लाह र सुझाव ग्रहण गर्ने काम हुँदैछ।

‘वर्षभरि रिसोर्टका गतिविधिले छिमेकीलाई ‘इरिटेसन’ भएको होला, दिक्क लागेको होला, हामी छिमेकीहरूलाई डाकेर साङ्गीतिक कार्यक्रमका साथ उहाँहरूको गुनासा र सल्लाह सुन्नेछौँ,’ अध्यक्ष खड्का भन्छन्।

हुन त सेयर एन्ड केयरको मूल मन्त्र पनि ‘आफूलाई जस्तै आफ्ना छिमेकीलाई प्रेम गर’ भन्ने नै रहेकाले छिमेकीलाई परेको सहयोग गर्न यो संस्था हरबखत तम्तयार रहँदै आएको छ। स्थानीय टोलमा बाटोमा बत्ती हाल्ने, बाटोघाटो बनाउने, बगैचा र सरसफाइमा छिमेकीहरूसँग होस्टे र हैँसे गर्दै आएको प्याराडाइज हिल्सले व्यापार मात्र होइन, सेवा पनि गरेको छ भन्दा फरक नपर्ला। अझ स्थानीय क्षेत्रका युवालाई पनि हौसला प्रदान गर्ने, टीटी, ब्याडमिन्टन, भलिबल खेलमा युवालाई प्रोत्साहित गर्ने कामसमेत संस्थाले गर्दै आएको छ।

प्रकाशित: २०८२ भदौ १९ गते बिहिबार ०४:१६
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना