काठमाडौँ। पालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतसँगै जापान र बेलायत तथा संयुक्त राष्ट्र संघले पनि स्वागत गरेका छन्। शुक्रबार मध्येराति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको थियो।
शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत कार्कीलाई शुभकामना व्यक्त गर्दै नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
यसैगरी बेलायतले पनि गत साता भएको दुःखद् रूपमा मानव जीवनको क्षति, घाइते र सम्पत्तिको नोक्सानीपछि शुक्रबारको अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम भएको बताएको छ। काठमाडौँस्थित बेलायती राजदूतावासले विज्ञप्ति जारी गर्दै नेपालको समावेशी शासन र नेपाली आकांक्षालाई समर्थन गर्न बेलायत प्रतिबद्ध रहेको जनाएको छ।
यसैगरी जापानले पनि नयाँ अन्तरिम सरकारको स्वागत गरेको छ। काठमाडौँस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गर्दै जापानले नेपालको विकास र समृद्धिका लागि आफ्नो समर्थन निरन्तर जारी राख्ने बताएको छ। नयाँ अन्तरिम सरकार बन्नु रूपान्तरणतर्फको एक महत्त्वपूर्ण कदम भएको जापानले बताएको छ। अन्तरिम सरकारको स्वागत गर्दै यसले शान्ति र स्थिरता कायम गर्नेमा आफूहरू आशावादी रहेको विज्ञप्तिमा बताइएको छ।
यसैगरी नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले पनि नवनियुक्त प्रधानमन्त्री कार्कीले संवेदनशील समयमा मुलुकको नेतृत्व सम्हालेको भन्दै शुभकामना व्यक्त गरेको छ। राष्ट्रसंघले जेनजी युवाको योगदान र राष्ट्रपति रामचन्द्र पौडेल एवं प्रधान सेनापती अशोक सिग्देलको सकारात्मक कदमले यो सम्भव भएको चर्चा गरेको छ। नेपालमा शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिका लागि राष्ट्रसंघले सहयोग गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।


