काठमाडौँ: हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आगामफ भदौ १९ गतेसम्म देशका विभिन्न स्थानमा मध्यम, भारी र अति भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारण बदली र कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भैरहेको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।
बुधबार राति सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।


