काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताएका छन्। काठमाडौं विश्वविद्यालय सभाको ९७औं बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘हामी सबैले मिहेनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने तिर जानु पर्दछ,’ उनले भने। उनले काठमाडौं विश्वविद्यालयले रोजगारी स्वदेशमै सृष्टि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौं। हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरु पछि परे।’
देशमा अनुशासन कायम भए विकास निर्माणका कामलाई प्राथमिकता दिन सकिने उनको भनाइ छ। राजनीतिक खिचातानी गर्ने ठाउँ भएकाले देशले आर्थिक विकासमा फड्को मार्न नसक्ने बताएका थिए। ‘उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरुप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ,’ उनले भने।



