काठमाडौं। ग्लोबल आइएमई बैंकले आठ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको शनिबार सम्पन्न सञ्चालक समितिको ४५९ औं बैठकले गत आर्थिक वर्ष २०८१०८२ को वितरण योग्यनाफा समेतबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकको स्विकृती लिई आगामी १९ औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय सञ्चालक समितिले गरेको बैंकले जानकारी दिएको छ।
गत आर्थिक वर्षमा बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुदनाफा गरेको थियो। अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफा गरेको थियो। गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४.११ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको थियो।
गत वर्ष बैंकको वितरणयोग्य नाफा पाँच अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ।
बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैंकको रुपमा सम्मानित भइसकेको छ।
बैंकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ। बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।
