२०८३ साउन १३ गते बुधबार

ट्रमा सेन्टरमा रहेका जेन–जी आन्दोलनका घाइते के चाहन्छन्?

 |  राधिका अधिकारी
Sanket

राधिका अधिकारी

काठमाडौँ, असोज २८
Liza-Adhikari-GenZ-NIMJN-1760371370-1760422580-520-1760425510

सधैँ व्यस्त रहने काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा भदौ २३ गते डाक्टर सन्तोष पौडेलले वार्डमा बिरामी हेरिहेका थिए। दिउँसो साढे १ बजेतिर उनको मोबाइलमा घन्टी बज्यो । फोन थियो– सिभिल अस्पतालका डाक्टर सुवास बन्जाडेको।

“सुवासले आँत्तिदै ‘यहाँ धेरै बिरामी आए, उनीहरूलाई त्यता (ट्रमा सेन्टरमा) डाइभर्ट गर्नुपर्‍यो’ भनेका थिए,” डाक्टर सन्तोषले त्यो दिनको संवाद स्मरण गरे, “बानेश्वरमा प्रदर्शन भइरहेको थाहा थियो, त्यसैले पठाउनुस् भनेर हामी आवश्यक तयारीमा लाग्यौँ।”

ट्रमा सेन्टरका वार्डमा बिरामी हेरिरहेका स्वास्थ्यकर्मी, अप्रेसन थिएटरमा अप्रेसन गरिररहेका स्वास्थ्यकर्मीलाई आकस्मिक कक्षमा बोलाएर ‘डिजास्टर रेस्पोन्स प्लान एक्टिभेट’ गर्दा नगर्दै गोली लागेका घाइतेले अस्पताल भरियो।

अस्पताल पुग्ने सबै घाइते काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा गोली लागेका थिए । घाइतेहरू शरीरका प्रायः सबै अंगमा गोली लागेका थिए। कसैको टाउकोमा, कसैको छातीमा, कसैको हात, खुट्टामा त कसैको मेरुदण्डमा गोली लागेका । हेर्दा लाग्थ्यो, यो काठमाडौंको अस्पताल नभई एउटा कुनै युद्धग्रस्त क्षेत्रको अस्पताल हो।

“यति ठूलो ‘मास क्याजुअल्टिज’ आयो कि, सबै गोली लागेका, चोट लागेका, रगत बगेका,” डा. सन्तोष भन्छन्, “हामीलाई सबैभन्दा ठूलो समस्याचाहिँ रगतको भयो, हामी स्वास्थ्यकर्मीले नै तत्काल रक्तदान गरेर उपचार गर्‍यौँ।”

२३ गते अस्पताल पुगेका मध्ये ८ जनाको त्यही दिन ज्यान गएको थियो। २३ र २४ गते भएको प्रदर्शनमा घाइते भएका १९२ जना यो अस्पतालमा भर्ना भएका थिए। जसमध्ये १० जना अहिले पनि अस्पतालमै उपचाररत छन् । त्यसैमध्येकी एक हुन्– लिजा अधिकारी।

मोरङको रतुवामाई नगरपालिका–८ की २० वर्षीया लिजालाई चौथो तलाको बेड नम्बर ४३३ मा असोज २२ गते भेट्दा उनी बर्बराउँदै थिइन्, “हामीले गोली खाएको व्यर्थै हुने भयो।”

भ्रष्टाचारको अन्त्य, सुशासन कायम हुनुपर्ने मागसहित जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनमा सहभागी हुँदै गर्दा भदौ २३ गते उनलाई संसद् भवनबाहिर बानेश्वर चोकनजिकै गोली लागेको थियो।

पछाडिबाट उनको देब्रे कुममा लागेको गोली हड्डी छेडेर कुम र छातीबीच अगाडिबाट बाहिर निस्किएको छ । चिकित्सकले उनको कुमको पाँचपटक शल्यक्रिया गरिसकेका छन्। उनलाई धेरै पीडा भएकाले बेड नम्बर ४३३ बाट असोज २५ गते एचडीयू वार्डको २२७ नम्बर बेडमा सारिएको छ। असोज २२ गते हामीले ४३३ बेड नम्बरमा भेट्दा उनले आक्रोश पोखिन्, “हाम्रा साथी मार्नेविरुद्ध जाहेरी पनि दर्ता हुन सकेको छैन रे!”

GenZ-protest-Kathmandu-NIMJN-1760375905.jpeg

भदौ २३ मा काठमाडौंमा जेन—जीहरूले गरेको प्रदर्शन । तस्बिर : रजनीश भण्डारी/निमजिन

भदौ २३ गते जेन—जीहरूले काठमाडौंसहित देशका मुख्यमुख्य सहरमा शान्तिपूर्ण प्रदर्शन आह्वान गरेका थिए। काठमाडौंमा माइतीघर मण्डलाबाट अघि बढेका प्रदर्शनकारीले बानेश्वरमा प्रहरीको घेरा तोड्दै संसद् भवनमा पुगेर प्रदर्शन गरेका थिए । प्रदर्शनकारी संसद् भवन नै छिरेपछि सुरक्षाकर्मीले गोली चलाए। “हामी भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्दै थियौँ, जेन–जीका माग सरकारलाई सुनाउन चाहन्थ्यौँ, हाम्रो शान्तिपूर्ण जुलुसमा गोली चलेपछि भीड आक्रोशित भयो,” ट्रमा सेन्टरमा उपचाररत लिजा भन्छिन्।

त्यो दिन बानेश्वरको संसद् भवन अगाडि गोली लागेर १७ जनाको र इटहरीमा २ जना गरी १९ जनाको ज्यान गयो। त्यसको विरोधमा भोलिपल्ट देशभर हिंसात्मक प्रदर्शन भयो। २३ र २४ गतेको प्रदर्शनमा ७६ जनाको ज्यान गएको र ३ हजार ५०० जना घाइते भएको प्रहरीको तथ्यांक छ।

अस्पतालमा कुरुवा बसेका लिजाका बुबा आक्रोशित सुनिन्छन्, “हाम्रा छोराछोरीमाथि गोली चलाउनेलाई कारबाही किन भइरहेको छैन?”

बेथितिले जन्माएको विद्रोह
कमजोर आर्थिक अवस्थाकै कारण लिजाका बुबाले चाहे जति पढ्न पाएनन्। मोरङमा नै छापाखाना चलाएर छोराछोरीको पठनपाठन र घरखर्च जोहो गरेका उनको हातबाट थुप्रै पटक कमिसन नदिएकै कारण सरकारी कार्यालयका काम फुत्किए।

बुबाले समाजका यी र यस्तै बेथितिका विरुद्धमा सकेको विद्रोह गरे। बुबाको विद्रोह हेर्दै र बुझ्दै हुर्किएकी लिजामा पनि विद्रोहको ज्वाला दन्किरहेको थियो।

पढ्नका लागि काठमाडौं आएकी लिजाले पढाइसँगै काम पनि गरिरहेकी थिइन् । साथीभाइसँग देशमा भइरहेको बढ्दो भ्रष्टाचार र बेथितिका बारेमा कुरा गर्थिन्। भदौ २३ गते जेन–जीले प्रदर्शन गर्दै छन् भन्ने सामाजिक सञ्जालमार्फत थाहा पाएकी उनले त्यसको ३ दिनअघि आन्दोलनमा जाने मनस्थिति बनाएकी थिइन् । उनले आमासँग आन्लोनलबारे कुराकानी गरिन्। तर आमाले अनुमति दिइनन् । मुटुकी बिरामी आमाको वचन काटेर लिजालाई आन्दोलनमा जान गाह्रो थियो।

भदौ २३ गते उनले ललितपुरको बालकुमारीमा रहेको डेरामै बसेर माइतीघरमा युवा जम्मा हुँदै गरेको भिडियो सामाजिक सञ्जालमा हेरिन्। “जम्मा हुँदै गरेको भीड र त्यहाँ लागेका नाराले मलाई उकुसमुकुस भयो,” लिजा भन्छिन्, “त्यसपछि अफिसको काम देखाएर घरबाट निस्किएँ।”

उनी बानेश्वर पुगिन् र युवाको भीडमा मिसिइन्।  आन्दोलनमा सरिक भएको केही समयमै उनको कुम छेडेर गोली बाहिर निस्कियो। शरीरबाट बगिरहेको रगतको भलसहित बानेश्वरको एभरेस्ट अस्पताल पुगेकी उनलाई प्राथमिक उपचारपछि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो।

घाइतेको प्रश्न : शान्तिपूर्ण आन्दोलनमा किन गोली चलाइयो ?
सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ का राकेशकुमार महतो (२५) लाई २३ गते ४ बजेतिर बानेश्वरमै गोली लागेको थियो। मेरुदण्डमा गोली लागेका उनको कम्मरभन्दा तलको भाग चल्दैन। गोलीले भाँचिएको मेरुदण्डमा स्टिल राखिएको छ । मेरुदण्डको असरले दुइटै खुट्टाले काम गरेको छैन।

बेथितिविरुद्ध भएको आन्दोलनमा सामेल भएका राकेश प्रश्न गर्छन्, “शान्तिपूर्ण आन्दोलनमा किन गोली चलाइयो ?”

२४ गते प्रदर्शन चर्किंदै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। जेन–जीकै मागका आधारमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। राकेश जेन–जी आन्दोलनको भावना र म्यान्डेडअनुसार सरकार र देशअघि बढेन भनेर चिन्तित छन्। “आशा थियो, भ्रष्टाचारको फाइल पल्टिन्छ, देशले सुशासनको बाटो समाउँछ,” उनी भन्छन्, “तर यसको संकेत देखिएन।”

२४ गते राजीनामा दिएपछि सेनाको हेलिकप्टरमा बालुवाटार छाडेका निवर्तमान केपी शर्मा ओली र उनको दल नेकपा एमालेले जेन–जीको आन्दोलनलाई स्वीकार गर्न सकेको छैन । ओलीले आन्दोलनकारी र त्यसयता गठन भएको सरकारप्रति कडा टिप्पणी गरिरहेका छन्।

आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाका बुबा पुरुषोत्तमलगायतले जेन–जीका तर्फबाट मानवताविरुद्ध तथा राज्यविरुद्धको अपराधमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगै गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेर दिएका थिए। प्रहरीले त्यो जाहेरी भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ अयोगमा पठाए पनि आयोगले त्यसलाई फिर्ता गरेको छ । जेन–जीले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न दबाब दिँदै आएका छन्।

आफ्नो उमेर समूहका युवाहरूको आन्दोलनले गरेको सत्ता परिवर्तनले पनि देशमा परिवर्तन नल्याउने हो कि भन्ने चिन्ता राकेशमा छ। त्यसैले स्थिति यस्तै रहेमा आफू फेरि आन्दोलनमा होमिन तयार रहेको उनी बताउँछन्। “हाम्रै आन्दोलनको बलमा बनेको सरकारलाई हाम्रा माग पूरा गर्न संविधानले दिँदैन अरे !” राकेश भन्छन्, “यसैगरी हामीमाथि लागेको गोलीको अवमूल्यन गर्ने हो भने हामी ह्विलचियर लिएर आन्दोलनमा निस्कन तयार छौँ।”

परिवारको चिन्ता उस्तै
आन्दोलनका घाइते शरीरमा लागेको चोटसँगै देशको स्थितिले अस्पतालको बेडमा छटपटाइरहँदा घाइतेका आफन्त पनि चिन्तितसँगै आक्रोशित सुनिन्छन्।

असोज २१ गते दिउँसो हामी पुग्दा लिजा अधिकारीको बेड छेउमै उनकी आमा गहभरि आँसु बनाएर छोरीलाई हेरिरहेकी थिइन्। आमाले छोरीको जति चिन्ता गर्छिन्, त्योभन्दा बढी चिन्ता छोरीलाई आमाको छ। मुटुकी बिरामी आमालाई कसैले केही सोधिदेलान् र केही गाह्रो होला कि भनेर लिजा दुखाइ सहेरै बस्छिन्।

“मैले आन्दोलनमा नजाऊ भनेकी थिएँ,” मसिनो स्वरमा बोलेकी लिजाकी आमाको गला अवरुद्ध हुन्छ। लिजा कोल्टो फेर्छिन्। लिजाका भाइ र बुबा पनि अस्पतालमै भेटिन्छन्। उनका भाइ खासै धेरै बोल्न सक्दैनन् । लिजालाई आफ्नो परिवारको परिचय सार्वजनिक गर्न मन छैन । आउनेहरूलाई बारम्बार आग्रह गर्छिन्, “मेरो परिवारलाई नाम र काम सोधेर हैरान नबनाइदिनुहोला ।”

उनले हामीसँग पनि आग्रह गरिन्, “मेरो बाहेक परिवारको परिचय र तस्बिर सार्वजनिक नगरिदिनुस् है !”

पछिल्लो समय लिजाको परिवार उनमै आश्रित थियो । उनका बुबा मलिन स्वरमा प्रश्न गर्छन् “घाइते परिवारको जीविकाका लागि सरकारले केही योजना सार्वजनिक गरिरहेको छ र ?”

Rakesh-Kumar-Mahato-Genz-NIMJN-1760371370.jpg

राकेशकुमार महतो । तस्बिर : राधिका अधिकारी/निमजिन

भाइलाई कुर्न अस्पतालमा बसेका राकेशका दाजु राजेशसँग मनभरि प्रश्न छन्। “मेरो भाइले अब गरिखान सक्दैन” आँखाभरि टिलपिलाएका आँसु लिएर राजेश प्रश्न गर्छन्, “उसको जीविकाका बारेमा यो सरकारले केही सोचेको होला कि नाइँ?”

राकेश लोकसेवा पास गरेर सरकारी नोकरी गर्न चाहन्थे। ४ वर्षदेखि काठमाडौंमा बसेर लोकसेवाको तयारी गरिरहेका राकेश अहिले सपनाविहीन छन्। भन्छन्, “देश बनाउने सपनाले आफू बन्ने र परिवार बनाउने सपना भत्कियो।” दुवै खुट्टा नचल्ने राकेशलाई अस्पतालले अपांग घोषणा गरिसकेको छ।

गाउँमा राकेशको परिवारलाई खान पुग्ने खेतबारी छैन । साहुको खेत ठेक्का गरेर खाने उनको परिवारले आफ्ना ४ सन्तानलाई पढाउन सकेन। राकेशका दुई दिदी र एक बहिनी विवाह गरेर गए। राकेशका दाजु राजेशले पनि स्कुल टेक्न पाएनन्। उनले देखेको एउटै सपना थियो– भाइ पढाउने र सरकारी जागिर खुवाउने । यही सपनाका लागि मजदुरी गर्दै आएका राकेशको पनि अहिले सपना भत्किएको छ। उनी भाइको छेउमा बसेर टोलाइरहन्छन्।

गोली खानलाई आन्दोलनमा किन गएको भनेर राजेशलाई बेलामा भाइलाई गाली गर्न मन लाग्छ। “काम नगरी एक छाक टार्न नसक्ने मान्छे किन गएको गोली खान भनेर चिच्याउन मन लाग्छ,” राकेश भन्छन्, “फेरि यो अवस्थामा उसलाई गाली गरेर पनि के गर्नु।”

राकेशलाई गोली लागेपछि उनका दाजु राजेशले काममा जान पाएका छैनन्। भन्छन्, “म त काम गर्न सक्थेँ, उसलाई कुर्ने कोही छैन ।” राकेशलाई भेट्न आमा काठमाडौं आएकी थिइन् । तर, छोराको अवस्था देखेर पटक–पटक रुने र बेहोस हुने गरेपछि राजेशले फकाएर गाउँ फर्काए।

“घरमा सबै दीर्घरोगी छन्, अब भाइ पनि थपियो, उनीहरूलाई औषधि कसरी दिने ?” राजेश प्रश्न गर्छन्।

आन्दोलनपछि बनेको सरकारका मन्त्रीहरू उनीहरूलाई भेट्न पालैपालो अस्पताल आए। हिम्मतका लागि धन्यवाद दिए। स्वास्थ्यलाभको कामना गरे। तर, कसैले पनि गोली लागेर आपांगता भएकाहरूको जीवनका बारेमा नबोलेको राकेशको गुनासो छ। भन्छन्, “देशका लागि गोली खानेहरूको जीवन देश चलाउनेहरूको दायित्वभित्र पर्नुपर्ने होइन र?”

  • [ यो सामग्री निमजिनबाट लिइएको हो- सम्पादक ]
प्रकाशित: २०८२ असोज २८ गते मङ्गलबार ०४:५४
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना