काठमाडौँ- सरकारले बजेटमार्फत घ्युतेल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुल बढाएकोमा उद्योगीले असन्तुष्टि जनाएका छन्। नेपाल वनस्पति घ्यु–तेल उद्योग उत्पादन संघले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलनमा उद्योगीले असन्तुष्टि जनाएका हुन्।
उद्योगीले पुरानै भन्सार महसुल कायम गर्न पनि माग गरेका छन्। संघका अध्यक्ष विकास दुगडले वर्तमान सरकारले बजेटमार्फत विगतमा घ्यु–तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार शुल्क विगतकै कायम गर्न माग गरे। भन्सार महसुल वृद्धिका कारण उद्योग बन्द हुने अवस्था सिर्जना भएकोसमेत उल्लेख गरे।
‘तेलको कच्चा पदार्थ आयातमा १ प्रतिशत रहेको भन्सार महसुललाई बजेटले १० प्रतिशत बनाउनु उपयुक्त होइन’, उनले भने, ‘सरकारले तत्काल सच्याउनुपर्छ। भारतबाट चोरी तस्करी भएर खाने तेल भित्रिने गरेको छ। नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिस्पर्धा गर्न सक्दैन।’
पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले सरकारले घ्यु–तेल उद्योगले राज्यलाई बुझाएको राजश्वको मूल्यांकन गर्न नसकेको बताए।
‘भन्सार महसुल वृद्धिका कारण पनि निर्यात बढ्न नसकेको हो’, उनले भने, ‘सरकारले घ्यु–तेल उद्योगलाई प्राथमिकता राखेर भन्सार महसुलमा बढाउन हुँदैन।’
भारतमा जम्मा ५ प्रतिशत मात्र कर लाग्ने गरेकोमा नेपालमा २३ प्रतिशत कर घ्युतेलजन्य कच्चा पदार्थमा लाग्ने व्यवस्था बजेटमा गरिएकाले तत्काल सच्याउन उद्योगीको माग छ।


