काठमाडौं। डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ।
विद्युत् महशुल बक्यौता नतिर्ने जगदम्बा स्टील लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, शिवम सिमेन्ट लिमिटेड, घोराही सिमेन्ट , अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेडको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।
प्रवक्ता ढकालका अनुसार आजबार बिहानबाट यी उद्योगहरुको विद्युत् लाइन काटिएको हो।
डेडिकेटेड र ट्रंकलाइन विद्युत् महशुल उठाउने विषय २०७५ सालयता सुल्झिन सकेको छैन। प्राधिकरणका तत्कालिन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक डेडिकेटेड र ट्रंकलाइनको महशुल बक्यौताबारे अध्ययन भई २०७५ वैशाख ३१ गते बसेको सञ्चालक समितिमा पेश भएको थियो। त्यसपछि प्राधिकरणले बक्यौता उठाउने प्रयास गर्दै आएको छ।
डेडिकेटेड ट्रंक लाइन विवादः प्राधिकरणले दिएको समय आज सकिँदै, क–कसले तिरे?
उद्योगी व्यवसायीहरुले भने आफुहरुले डेडिकेटेड र ट्रंकलाइन प्रयोग नै नगरेकाले त्यसको महशुल नतिर्ने बताउँदै आएका छन्। उनीहरुले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै आएका छन्। यो विषय विभिन्न अदालत, संघीय संसदको सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो।
पछिल्लो पटक प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचना जारी गर्दै उद्योगलाई २१ दिनभित्र बक्यौता बुझाउन आउन भनेको थियो। किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महशुल संकलन नियमावली २०७८ अनुसार लाइन काटिएको जनाएको छ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत् विद्युत् उपभोग गरेवापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत् महशुल बक्यौता रहेका ग्राहकहरुलाई प्रशासकीय पुनरावलोकनका लागि २०८२ जेठ मसान्तभित्र निवेदन दिनसक्ने म्यादन कायम गरि २०८२ वैशाख २६ र वैशाख ३० मा सूचना प्रकाशित भएको थियो।
गत असोज १० गते बसेको प्राधिकरणको सञ्चालन समितिले प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही बदर गर्ने निर्णय गरेको थियो।
शिवम सिमेन्ट सर्वसाधारणलाई प्राथमिक सेयर(आईपीओ) जारी गरेको छ। अन्य बाँकी उद्योगहरु आईपीओ जारी गर्ने क्रममा रहेको छ। त्रिवेणीले भारतलगायत टर्कीका धागो निर्यात गर्दै आएको छ। यस्तै त्रिवेणीले सबैभन्दा बढी निर्यात गरेको भन्दै सरकारबाट सम्मानित भएको छ।
रिलायन्सले बुकबिल्डग विधिबाट आईपीओ जारी गर्न लागेको छ भने जगदम्बा स्टीललगायत उद्योगले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।


