काठमाडौँ: आइतबार नेपाली बजारमा सुनको मूल्य एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ।
यसअघि पछिल्लो समय कात्तिक ३ गते सुनको मूल्य दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको थियो। त्यसयता सार्वजनिक बिदा परेकाले आज सुनको मूल्य अद्यावधिक गरिएको हो।
चीन र रुससँग अमेरिकाको सम्बन्ध सुधार हुँदै गएको र सुनको बिक्री दबाब भएका कारण सुनको मूल्य घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्ये नेपालक्लिक्सलाई बताए।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ। गत मंगलबार प्रतिऔंस मूल्य ६.३ प्रतिशतले घटेर ४,०८२ अमेरिकी डलरमा पुगेको गोल्डप्राइस डटकमले उल्लेख गरेका छन्। यो सन् २०१३ अप्रिलयताकै एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट थियो। त्यसपछि पनि बजारमा निरन्तर उतारचढाव देखिएको छ। बुधबार बजार बन्द हुँदा प्रतिऔंस ४,०९७ डलरमा पुगेको सुन बिहीबार ४,०२६ डलर र शुक्रबार ४,०५६ डलरमा कारोबार भएको गोल्डप्राइस डटकमको तथ्यांकले देखाउँछन्।
सुनको मूल्यमा आएको यस्तो तीव्र गिरावट पछिल्लो समय अमेरिकी डलरको कमजोर स्थिति, सरकारी ऋण वृद्धि, र लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुन रोज्दै आएको प्रवृत्तिसँग सम्बन्धित मानिएको छ।
डोनाल्ड ट्रम्पको व्यापार नीतिहरू र विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन भण्डारण गर्न थालेको कारणले अघिल्ला हप्तासम्म मूल्य निरन्तर बढ्दै गएको थियो।
विश्वबजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव देखिने अनुमान गरिएको थियो।


