काठमाडौँ- नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको ३५औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट उक्त बोनस दिने प्रस्ताव पारित गरेको हो।
जेठ २२ गते कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा बसेको साधारणसभाले बोनस सेयर वापतको कर प्रयोजनको लागि १ करोड ९५ लाख ३८ हजार ६६१ नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ।
त्यस्तै लगानीकर्तालाई बोनस सेयर, त्यसको कर प्रयोजनको रकमका साथै थप ६.५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
योसँगै कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ पुग्नेछ। आ.व. २०७८/०७९ मा कम्पनीको कुल बिमा शुल्क १५ प्रतिशतले वृद्धि भई १४ अर्ब ४० करोड पुगेको छ। जीवन बीमा कोष २०.८४ प्रतिशतले बढेर ५० अर्ब ८० करोड पुगेको कम्पनीले जानकारी दिएको छ।
कुल लगानी १९.८५ प्रतिशतले बढेर ४७ अर्ब ३ करोड पुगेको कम्पनीले जनाएको छ। कम्पनीले नेपालगञ्जस्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा आगामी आव २०८०/०८१ भित्र भवन निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाएको जनाएको छ।


