तनहुँ। २० हजार रुपैयाँ लगानीबाट सुरु गरेको व्यवसाय हाल करोडको जायजेथामा परिणत भएको सुन्दा अचम्म लाग्न सक्छ। नवलपरासीका विष्णुकुमार चौधरीले १६ वर्ष दमौलीमा ढाकाको व्यवसाय गरेर करोडको सम्पत्ति जोडेका छन्।
व्यास नगरपालिका–२ मा २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनी अहिले सफल उद्यमी बनेका छन्। उनी सफल उद्योगी मात्र नभई ढाका उद्योगमा उनले २५ जनालाई रोजगारी दिएका छन्। हाल उहाँको उद्योगमा एक करोड रुपैयाँ बढीको लगानी भइसकेको छ।
ढाकाबाट उत्पादन गर्न सकिने विभिन्न परिधानबारे प्रशिक्षणका सिलसिलामा दमौली आएका चौधरीले २० हजार रुपैयाँ लगानी गरी व्यवसाय थालेको हुन्।
उनेले भने, “पछिल्लो समय अपेक्षा गरिएअनुरुप व्यापार नभए पनि ढाकाको साडी र कोटतर्फ युवायुवतीको आकर्षण बढ्दै गएको छ।” उनका अनुसार हाल ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य परिधान बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको गएको छ।
ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरा सुरुवाल, पाल्पाली ढाकाटोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको उनले बताए। यहाँ उत्पादित ढाकाका सामग्री जिल्लामा मात्र सीमित छैनन् लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँलगायत स्थानबाट माग हुने गरेको छ।
यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयहरूले ढाकाको कपडा किन्ने गरेका छन्। उनले भने, “दौरा सुरुवाल, जनजातिको कपडादेखि धातुजन्य गहना, सटिङ सुटिङ, विवाह, व्रतबन्ध, पास्नी, विद्यालय, कलेजका पोसाकका साथै झोला उद्योग सञ्चालन गर्दै आएको छु।”


