काठमाडौँ: निजी लगानीमा स्थापित बोधी होल्डिङ प्रालिले भैरहवामा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक आवासीय (हाउजिङ) परियोजना अघि बढाएको छ। कम्पनीले दुई चरणमा गरी जम्मा १०४ एकाइ आवास निर्माण गर्ने योजना बनाएको हो।
बोधी होल्डिङ्ग्सले पहिलो चरणमा ६५ एकाइ (युनिट) आवासीय घर निर्माण गरिरहेको छ। ती घर निर्माण गर्न एक अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। जसमा २७ प्रतिशत संस्थापक स्वपूँजी (इक्विटी) र बाँकी ७३ प्रतिशत बैंक ऋण रहने गरी लगानी संरचना तय गरिएको हो।
८० करोड रुपैयाँ बैंक ऋण र ३० करोड रुपैयाँ स्वपूँजी रहनेछ। हालसम्म ६० प्रतिशत वित्तीय प्रगति भएको कम्पनीले रेटिङका लागि सार्वजनिक गरेको विवरणमा उल्लेख छ। परियोजनाको घरहरू फोर र फाइभ बीएचके ढाँचामा डिजाइन गरिएको छ।
हालसम्म ४९ करोड रुपैयाँको वित्तीय व्यवस्थापन भइसकेको छ। विभिन्न २४ जना ग्राहकहरूबाट १६ करोड ९० लाख रुपैयाँ बुकिङ रकम प्राप्त भएको कम्पनीले जनाएको छ।
आवासीय परियोजना लुम्बिनीको केन्द्रमा अवस्थित छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट झन्डै ४ किलोमिटर दूरीमा र भगवान बुद्धको जन्मस्थल तथा युनेस्को विश्व सम्पदा स्थल लुम्बिनीबाट करिब १५ किलोमिटर टाढा रहेको छ। परियोजना भारतको नजिकैको नौतनवा रेलवे स्टेशनबाट ३८ किलोमिटर दूरीमा रहेको छ, जसले यसलाई प्रमुख भारतीय शहरहरूसँग जोडेको छ। लुम्बिनी एक प्रमुख पर्यटन तथा तीर्थस्थल हो, जसले धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वका कारण देश–विदेशका आगन्तुकहरूलाई आकर्षित गर्दै आएको छ।
यस क्षेत्रमा मायादेवी मन्दिर, अशोक स्तम्भ, ३२ प्राचीन मठ, ध्यान केन्द्रहरू, र वर्षभर सञ्चालन हुने आध्यात्मिक कार्यक्रमहरू रहेका छन्।
त्यसैगरी कम्पनीले यस क्षेत्रमा सञ्चालनमा रहेको चारतारे बोधी रेड सन होटललाई चाँडै पाँचतारे स्तरमा स्तरोन्नति गर्ने तयारी गरेको छ। भारतीय सीमासँगको सजिलो पहुँचका कारण यो कर्पोरेट कार्यक्रम, विवाह समारोह तथा मनोरञ्जन यात्राका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ।
बोधी होल्डिङ्ग्स २०१९ को अगस्ट ६ मा स्थापित भएको हो। कम्पनी आवासीय र व्यावसायिक घर निर्माणको व्यवसायमा संलग्न छ।
बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट र व्यक्तिगत आवासिय घर खरिदमा कूल ६ खर्ब ९८ अर्ब ८६ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। जसमध्ये व्यक्तिगत घर खरिदमा चार खर्ब २७ अर्ब ३६ करोड र रियलस्टेटमा दुई खर्ब ७१ अर्ब ५० करोड रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। रियलस्टेट व्यवसाय सुस्त हुँदा पनि अर्थतन्त्र चलायमान हुन सकेको छैन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ। विभागले एक सूचनामार्फत तीन करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएको जनाएको छ। इजाजतका लागि आवेदन दिन विभागले आग्रह गरेको छ।
अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। विभागको सूचनाअनुसार एकपटकमा पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले पाँच लाख र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले १० लाख रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो। राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो।


