काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिम तथा र्चच बोइज क्लबका डिफेन्डर अनन्त तामाङ सम्मिलित क्लबले मंगलबार पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ।थ्रीस्टार क्लब छोडेर चर्चमा गएका उनले मंगलबार थ्रीस्टारलाई बराबरीमा रोक्दै उपाधि जिताउन योगदान गरेका हुन्।
पहिलो उपाधिबारे कुरा गर्दै अनन्ते आफूलाई खुसी लागेको बताए। ‘मेरो जिवनको पहिलो केरियर ट्रफी हो। यो उपाधिले खुसी लागिरहेको छ। मैले लिग जित्ने देखेको थिएँ। आज जितियो त्यसले धेरै खुसी लागेको छ,’ उनले भने।
थ्रीस्टार छोडेर चर्च छान्नु निकै महत्वपूर्ण निर्णय भएको पनि उनको अनुभव छ। चर्च बोइजका अध्यक्ष रुबिन सुब्बाले उनलाई क्लबमा आउनको लागि अनुरोध गरेका थिए। ‘क्लबको अध्यक्षले सुरुमा आउँदाखेरि चाहिँ टिम सेट सुनाउनु भएको थियो। त्यो दिनबाटै मैले उपाधिको सम्भावना देखेको थिएँ,’ उनले भने।
थ्रीस्टारलाई नै बराबरीमा रोक्दै जितेकोमा चाहिँ दु:ख लागेको उनले बताएका छन्। किनभने थ्रीस्टार अहिले रेलिगेसन क्षेत्रको केही माथि रहेर ए डिभिजनमा रहनको लागि संघर्ष गरिरहेको छ।
‘आफूले लामो समय खेलेको क्लब तालिकामा तल रहँदा दुख लागेको छ। अलिकति थ्रीस्टारको अवस्था हेरेर दुख पनि लागेको छ,’ उनले भने।
उपाधि जिते पनि उत्सव भने नउले मनाएनन्। ‘हामीले अन्तिम खेलका लागि सेलिब्रेसन बँचाएर राखेका छौं। आज सेलिब्रेसन नगर्ने भन्ने नै थियो,’ अनन्तले भने।
अहिले लिगको उपाधि जिते पनि उसले अब एएफसी कपको छनोट भने खेल्न पाउने छैन। नेपालको लिगको शीर्षस्थानमा रहने क्लबले एसिया महादेशको तेस्रो वरीयताको महादेशीय लिगको छनोट खेल्न पाउँछ। तर त्यसको लागि उसले एएफसी लाइसेन्स लिनु पर्ने हुन्छ।

‘चर्च बोइजलाई बाहिर लिएर जान नपाउँदा दु:ख लागेको छ। अब यो कुराले चर्च बोइजको मेनेजमेन्ट टिमले पाठ सिक्छ होला,’ अनन्तले भने।
समग्रमा लिगमा धेरै तलमाथि भएको अनन्तको अनुभव छ। त्यो किनभने उसले ल्याएको प्रशिक्षकले नेपालमा काम गर्ने श्रम स्विकृति नै पाएनन्। त्यसले क्लबले दुई खेल प्रशिक्षकविहीन भएर खेल्यो।
‘दुःख पनि थियो। खुसीका क्षण पनि थिए। प्रशिक्षक नहुँदा गाह्रो भयो। एक दुई चरणमा त्यस्तो भयो। सर(बालगोपाल महर्जन) आएपछि हामी ट्राकमा ब्याक भएको हो। एकदमै उत्साहित थियौँ। पूर्व राष्ट्रिय खेलाडी पनि हुनुहुन्थ्यो। लिग जित्नकै लागि खेलिरहेको हो नि त,’ उनले भने।


