काठमाडौं। चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा नबिल बैंकको नाफा १४.५६ प्रतिशत घटेको छ। साउनदेखि असोजसम्म बैंककले एक अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुदनाफा गरेको छ। गत वर्षको यही अवधिमा बैंककले दुई अर्ब पाँच करोड ६५ लाख रुपैयाँ खुदनाफा गरेको थियो।
गत वर्षको तुलनामा यो वर्ष बैंकको खुदनाफा झण्डै ३० अर्ब रुपैयाँ घटेको बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
बैंकको निष्क्रिय कर्जा बढेर ब्याज आम्दानी घटदा यसको असर नाफामा परेको हो। यस अवधिमा बैंकको खुदब्याज आम्दानी घटेर तीन अर्ब ९० करोड १२ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष खुदब्याज आम्दानी चार अर्ब १४ करोड रुपैयाँ थियो। तीन महिनामा बैंकको बैंकको इम्पेयरमेन्ट चार्ज गत वर्षको सोही अवधिको ४५ करोड ७७ लाखबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.७२ प्रतिशतले बढेर १ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १.०२ प्रतिशतले घटेको छ।
बैंकको प्रतिसेयर आम्दानी २५.४९ रुपैयाँ छ। सोही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ।
बैंकको कूल निष्क्रिय कर्जा अनुपात ४.३१, निक्षेप लागत ४.१३, आधारदर ५.५८, ब्याजदर अन्तर (स्प्रेड) ३.५१ प्रतिशत रहेको छ।


