नयाँदिल्ली,एएफपी। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का सञ्चालकले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन्।
यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्यांकन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ।
विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (युएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसिबीमा गरेको लगानीको ‘रणनीतिक समीक्षा’ सुरू भएको औपचारिक रूपमा जनाएको छ।
युएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले बुधबार पठाइएको पत्रमा आरसिबीलाई ‘एक मूल्यवान र रणनीतिक सम्पत्ति’ भनेका छन्। तथापि, उनले यसलाई ‘हाम्रो मुख्य अल्कोबेभ व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका’ कारण समीक्षा आवश्यक भएको बताए।
“यो निर्णयले युएसएल र डियाजियो दुवैको भारतस्थित व्यवसायिक पोर्टफोलियोको समीक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता झल्काउँछ”, सोमेश्वरले भने, “हामी आरसिबी र त्यससँग सम्बन्धित सम्पूर्ण हितलाई प्राथमिकतामा राख्नेछौँ।”
यो समीक्षा प्रक्रिया पुरुष तथा महिला दुवै टोलीका स्वामित्व सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेडसम्म फैलिने बताइएको छ। आगामी वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ।
सन् २००८ मा स्थापना भएको यो चर्चित टी–२० क्रिकेट लिगमा आरसिबीले पहिलो पटक यसै वर्ष जुन महिनामा आइपिएल उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। ब्लुमबर्ग न्युजका अनुसार, टोलीका सञ्चालकहरुले अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब डलरसम्मको मूल्यांकन लक्ष्य राखिरहेका छन्।
आरसिबीको सम्भावित बिक्रीबारे हुने यो समीक्षा र निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना देखिएको छ।


