सिरहा। लहान नगरपालिका–३ स्थित हस्पिटलचोक नजिकै नौ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त ‘कार्निभल सिनेम्याक्स’ सिनेमा हल सञ्चालनमा आएको छ।
स्थानीय मुरारका परिवारको लगानीमा निर्माण भएको यो सिनेमा हललाई सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शनिबार साँझ एक समारोहबीच उद्घाटन गरेका छन्।
कार्निभल सिनेम्याक्सका अध्यक्ष अभिनव मुरारकाले यो सिनेमा हल पूर्वाञ्चल क्षेत्रकै पहिलो एडभान्स प्रविधिमा बनेको दाबी गरेका छन्। उनका अनुसार, नवनिर्मित सिनेमा हलको क्षमता १३८ सिट रहेको छ।
अध्यक्ष मुरारकाले यो हललाई मनोरञ्जनको साधन मात्र नभई पर्यटकका लागि नयाँ गन्तव्यको रूपमा प्रस्तुत गरेका छन्। “यो एउटा सिनेमा हलमात्रै होइन, लहानमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो”, उनले भने, “समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट मनोरञ्जन दिन खोजिएको हो।”
उनका अनुसार, यस हलमा एडभान्स साउन्ड सिस्टम र ‘प्रोजेक्टर’ जस्ता उच्च प्रविधियुक्त सुविधा उपलब्ध छन्। दर्शकहरूका लागि टिकटको मूल्य ३०० देखि ९०० सम्म रुपैयाँ निर्धारण गरिएको छ, र मनोरञ्जनका लागि हलमा दैनिक चार ‘सो’ सञ्चालन गरिनेछ।
मधेस प्रदेशमा वीरगञ्जबाहेक अन्यत्र सुविधासम्पन्न हल नभएको अवस्थामा लहानमा खुलेको यो हलले सिरहा, सप्तरी र उदयपुर आसपासका बासिन्दालाई लक्षित गरेको छ। यसअघि स्तरीय सिनेमा हल नहुँदा यी क्षेत्रका दर्शक फिल्म हेर्न वीरगञ्ज वा विराटनगरसम्म पुग्नुपर्ने बाध्यता थियो।
यसका साथै, भारतीय सीमा क्षेत्र नजिक रहेकाले सीमावर्ती जिल्लाका लाखौँ भारतीय नागरिकलाई पनि आकर्षित गर्ने निर्माण पक्षले अपेक्षा गरेको छ।


