काठमाडौं। चीनको गेजुवा ग्रुप पावर इन्भेस्टमेन्ट नेपाल प्रालिले २७० मेगावाटको भेरी-१ अर्धजलासय जलविद्युत आयोजना बनाउन लागेको छ।
गेजुवाले उक्त आयोजनाबाट विद्युत उत्पादन इजाजत (लाइसेन्स) का लागि आवेदन दिएपछि विद्युत विकास विभागले प्रक्रिया अघि बढाएको छ। आगामी ३५ दिनपछि गेजुवाले भेरी १ आयोजनाबाट बिजुली उत्पादन गर्न लाइसेन्स पाउने छ। ग्रुपले आयोजना बनाउन नेपालमा कम्पनी स्थापना गरिसकेको छ।
अर्धजलासय आयोजनाबाट वार्षिक एक अर्ब ५६ करोड ७३ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ।
आयोजना बनाउन ७१ अर्ब ९७ करोड १६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाबाट आर्थिक वर्ष २०८८/०८९ सम्ममा विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ।
आयोजना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन हुने गरी डिजाइन गरिएको छ। आयोजनाको ग्रस हेड २९३ मिटर अग्लो हुनेछ।
आयोजना कर्णाली प्रदेशको जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा प्रस्ताव गरिएको छ। प्रस्तावित आयोजनाको जलाशय ५५ सय ७१ वर्गकिलोमिटर र सुरुङको लम्बाइ सात किलोमिटर हुने भएको छ। आयोजनाको विद्युतगृह संरचनाबाहिर राख्न प्रस्ताव गरिएको छ।
चिनियाँ कम्पनी गेजुवाले २०७५ जेठमा सर्वेक्षण लाइसेन्स लिएर अध्ययन अघि बढाएको थियो। पहिला ४४० मेगावाटका लागि भनेर सर्वे लाइसेन्स लिएकोमा पछि आयोजनाको जडित क्षमता १७० मेगावाट क्षमता घटाएर २७० मेगावाट कायम गरेको हो।
आयोजनाको सम्पूर्ण संरचनाहरू जाजरकोट जिल्लाको नलगाड नगरपालिका तथा रूकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका भएर बग्ने भेरी नदीको दायाँ किनारामा रहनेछन्।
भेरी नदीमा बाँध बाँधी नदीको दायाँ किनारामा निर्माण हुने साइड इन्टेकबाट पानी फर्काइ उक्त पानीलाई आयोजनाका मुख्य संरचनाहरू बाँध, डिस्याण्डिड बेसिन, हेडरेस सुरूङ, सर्जट्यांक, पेनस्टक पाइप हुँदै विद्युत गृहमा लगिनेछ। टेलरेस नहरमार्फत पुनः भेरी नदीमा पठाइने भएको छ।
विद्युत उत्पादनको लागि भेरी नदीको पानी फर्काउन ज्यामिरे गाउँ भन्दा करिब १ किलोमिटर तलपट्टि बनाइने बाँधको लम्बाई २५१.९ मिटर र खोलाको जमिन सतहबाट ३८५ मिटर अग्लो रहनेछ। बाँधका कारण भेरी नदीमा बाँधदेखि करिब ३ किलो मिटर माथिसम्म पिकिङ प्रयोजनका लागि जलाशयको निर्माण हुनेछ।
जलाशायमा करीब ८.३३ मिलियन घनमिटर पानी सञ्चय गर्न सकि नेछ। जसबाट पिकिङ समयमा करीब ६ घण्टासम्म आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ।
पेनस्टक पाइप मार्फत पानीलाई भेरी नदीको दायाँ किनारा पट्टी प्रस्तावित सतही विद्युत गृहमा पुर्याइने भएको छ। तल्लु गाउँ भन्दा करिब १.२ किलोमिटर तलपट्टि भेरी नदीको दायाँ किनारातर्फ प्रस्ताव गरिएको ७४.५ मिटर लम्बाइ र ३८८ मिटर चौडाइ भएको सतही विद्युतगृहमा जडान गरिने ३९० मेगावाट क्षमताका फ्रान्सिस टर्वाइनहरुमा पानी खसाली २७० मेगावाट विद्युत उत्पादन गरिनेछ।
विद्युत उत्पादनपछि १०.११ मिटर चौडाइ भएको टेलरेस नहर मार्फत पानीलाई पुनः भेरी नदीमा पठाइनेछ।
विद्युत गृहमा उत्पादित विद्युतलाई विद्युत गृहको नजिकै बाहिर पट्टि बनाइने स्वीचयार्डमा जडान हुने १३.८/४२० केभी भोल्टेज रेसियो र ११० एमभिए. क्षमता भएका ३ वटा पावर ट्रान्सफर्मरमा जोड़ी त्यहाँबाट करिब २० किलोमिटर लम्बाइमा बनाइने ४०० केभीको डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले बनाउन प्रस्ताव गरेको ४००/१३२ केभिको नलगाड सब स्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने भएको छ।


