काठमाडौँ: गिली अटो ग्रुपले आफ्नो पूर्णत: विद्युतीय एसयूभी ‘गिली ईएक्स फाइभ’को विश्वव्यापी बिक्री २ लाख १० हजार युनिट नाघेको जनाएको छ। यो उपलब्धिले गिली ईएक्स फाइभलाई आफ्नो वर्गका सबैभन्दा सफल नयाँ विद्युतीय सवारीसाधनहरूमध्ये एकको रूपमा स्थापित गरेको कम्पनीले बताएको छ।
चीनमा सार्वजनिक भएको करिब सात महिनामै यस मोडेलले १ लाख युनिटभन्दा बढी बिक्री गर्न सफल भएको थियो। हाल यो सवारी थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली मुलुकहरू र ल्याटिन अमेरिकी राष्ट्रहरू गरी २६ देशमा बिक्री वितरण भइसकेको छ।
गिली समूहले सन् २०२५ को पहिलो छ महिनामै विश्वभर १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशत वृद्धि हासिल गरेको जनाएको छ। कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्य २० लाख ७१ हजार युनिटबाट बढाएर ३० लाख युनिट पुर्याउने घोषणा पनि गरेको छ।
२ लाख १० हजारभन्दा बढी बिक्रीलाई कम्पनीले ग्राहकहरूको विश्वास र आफ्नो विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणका रूपमा लिएको छ। कम्पनीले आगामी वर्षहरूमा ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा उपस्थिति विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ।
नेपालमा हालै बिक्री वितरण सुरु गरिएको गिली ईएक्स फाइभले पनि नेपाली उपभोक्ताको चासो बढाएको छ। विद्युतीय सवारीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन्। बढ्दो मागका कारण नेपालका लागि गिली ईएक्स फाइभको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले देशभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
गिली ईएक्स फाइभले सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय स्तरका सम्मान थाप्दै विश्व बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ। सन् २०२५ मा यस मोडेलले युरो एनक्याप र एनक्याप दुवैबाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।


